जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज विशेष कार्यक्रमसहित पूर्वनिर्धारित अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गरेको थियो।
समितिले विपद्को यस घडीमा मातृभूमि नेपालका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोग गर्न आफ्ना सम्पूर्ण सदस्य, विभिन्न संघ–संस्था तथा सहयोगी व्यक्तिहरूलाई अपिल गरेको थियो।
सोही अभियानअन्तर्गत संस्थागत रूपमा रु. ५० हजार तथा संस्थामा आबद्ध सदस्यहरूबाट संकलित रु. १ लाख ६३ हजार ७७२ गरी कुल रु. २ लाख १३ हजार ७७२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिले जनाएको छ।
उक्त रकम एनआरएनए क्षेत्रीय समिति जोहोरका अध्यक्ष श्री वेदना श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।
एनआरएनए क्षेत्रीय समिति जोहोरले बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यस घडीमा सहयोग गर्ने सम्पूर्ण सदस्य, संघ–संस्था तथा सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गरेको छ।