क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ।
नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनमा सहभागी थारु कल्याणकारिणी सभा–मलेसियाले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै किरात राई यायोक्खा मलेसियाको नयाँ नेतृत्वलाई शुभकामना दिएको छ।
थारु कल्याणकारिणी सभा–मलेसिया परिवारले किरात राई यायोक्खा मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ बाट नवनिर्वाचित सम्पूर्ण कार्यकारी पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य, सांस्कृतिक संरक्षण तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।