नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो।
इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन यसको लोकतान्त्रिक चरित्र, संगठनात्मक क्षमता र कार्यकर्ताको त्यागमा निहित रहेको छ।
कांग्रेसका सत प्रतिशत नेता कार्यकर्ता गुट, विभाजन र आपसी अविश्वासको राजनीतिबाट मुक्त भएर एकताबद्ध, सुदृढ, अनुशासित र विश्वासयुक्त कांग्रेस निर्माण गर्न चाहन्छन्। उनीहरूको चाहना स्पष्ट छ कांग्रेसभित्र प्रतिस्पर्धा होस्, तर कटुता नहोस् विचारको बहस होस्, तर विभाजन नहोस् नेतृत्वका लागि प्रतिस्पर्धा होस्, तर संगठन कमजोर बनाउने प्रवृत्ति नहोस्।
त्यसैले अब “संस्थापन वा विस्थापन”, “यो गुट वा त्यो गुट” जस्ता संकीर्ण घेराभन्दा माथि उठ्ने समय आएको छ। कांग्रेसलाई गुटको संख्याले होइन, विचारको उचाइले बलियो बनाउनुपर्छ। नेतृत्वलाई व्यक्तिको समर्थन र विरोधको घेराभन्दा माथि उठेर संगठन, लोकतन्त्र र राष्ट्रको दीर्घकालीन हित हेर्न सक्ने राजनीतिक संस्कार आवश्यक छ।
कार्यकर्ता चुनावका बेला सम्झिने मतदाता होइनन्। उनीहरू कांग्रेसको जीवन्त शक्ति हुन्। गाउँदेखि शहरसम्म, देशदेखि प्रवाससम्म, कठिन समयदेखि संघर्षका मैदानसम्म कांग्रेसको झण्डा बोकेर हिँड्ने कार्यकर्ताको आवाज नेतृत्वले सुन्नैपर्छ। उनीहरूको भावनालाई सम्मान गर्नैपर्छ। संगठनभित्र उठेका प्रश्नलाई असन्तुष्टिको रूपमा मात्र होइन, सुधारको अवसरका रूपमा ग्रहण गर्न सक्नुपर्छ।
लोकतन्त्रको सुन्दरता नै विविधतामा हुन्छ। फरक विचार राख्नु अपराध होइन, फरक धारणा राख्नु विद्रोह होइन र नेतृत्वसँग प्रश्न गर्नु संगठनविरोधी गतिविधि होइन। बरु विचारको विविधतालाई व्यवस्थापन गर्दै साझा उद्देश्यमा सबैलाई जोड्ने क्षमता नै लोकतान्त्रिक नेतृत्वको वास्तविक परीक्षा हो। कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्रलाई अझ जीवन्त बनाउन सक्यो भने त्यसले मुलुकको लोकतान्त्रिक संस्कारलाई समेत बलियो बनाउनेछ।
आज कांग्रेसलाई एकअर्कालाई कमजोर बनाउने राजनीति होइन, एकअर्काको क्षमता जोड्ने राजनीति चाहिएको छ। कसले कसलाई हरायो भन्ने होइन, कांग्रेसले जनताको मन कसरी जित्छ भन्ने प्रश्न महत्वपूर्ण हो। कुन गुट बलियो भयो भन्ने होइन, कांग्रेसको संगठन कति बलियो भयो भन्ने कुरा निर्णायक हो। कसले पद पायो भन्ने होइन, कांग्रेसले देशलाई कस्तो दिशा दिन सक्यो भन्ने कुरा इतिहासले मूल्यांकन गर्नेछ।
हामीले बुझ्नुपर्छ विभाजनको राजनीति क्षणिक रूपमा कसैलाई बलियो देखाउन सक्छ, तर दीर्घकालमा त्यसले संगठनलाई कमजोर बनाउँछ। गुटगत अहंकारले कार्यकर्ताको मनमा दूरी पैदा गर्छ, नेतृत्वप्रतिको विश्वास घटाउँछ र जनताको नजरमा पार्टीको विश्वसनीयता कमजोर पार्छ। त्यसको विपरीत, सहकार्यले शक्ति निर्माण गर्छ, संवादले विश्वास निर्माण गर्छ र एकताले संगठनलाई दीर्घकालीन ऊर्जा प्रदान गर्छ।
त्यसैले अब कांग्रेसभित्र नयाँ राजनीतिक संस्कारको सुरुवात आवश्यक छ। प्रतिस्पर्धा गरौँ, तर प्रतिशोध नगरौँ। आलोचना गरौँ, तर अपमान नगरौँ। असहमति राखौँ, तर सम्बन्ध नतोडौँ। नेतृत्वलाई प्रश्न गरौँ, तर संगठनलाई कमजोर नबनाऔँ। नेतृत्वको पक्षमा उभिँदा पनि विवेक नछोडौँ र विरोध गर्दा पनि मर्यादा नाघ्न नदिऔँ।
व्यक्ति आउँछन्, जान्छन्। पद आउँछन्, जान्छन्। गुटहरू निर्माण हुन्छन् र समयसँगै परिवर्तन पनि हुन्छन्। तर नेपाली कांग्रेस एउटा ऐतिहासिक राजनीतिक बिरासत बोकेको पार्टी हो। यसको विरासत कुनै एक पुस्ता, एक नेता वा एक समूहको निजी सम्पत्ति होइन। यो लोकतन्त्रका लागि संघर्ष गर्ने असंख्य अग्रजहरूको योगदान, त्याग र बलिदानबाट निर्मित साझा धरोहर हो। त्यसैले कांग्रेसको भविष्यलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु हरेक नेता कार्यकर्ताको दायित्व हो।
आज आवश्यकता छ बिगतको योगदानलाई सम्मान गर्दै भविष्यको बाटो खोज्ने। पुराना मतभेदलाई बोकेर हिँड्ने होइन, नयाँ विश्वास निर्माण गर्ने। एकअर्कालाई समाप्त गर्ने होइन, एकअर्काको सामर्थ्यलाई उपयोग गर्ने। कांग्रेसभित्र रहेका सबै धार, विचार र पुस्तालाई एउटै लोकतान्त्रिक छातामुनि समेटेर अघि बढ्ने।
हामीले कांग्रेसलाई चुनाव जित्ने पार्टी होइन, जनताको दुःखसुखमा साथ दिने राजनीतिक भरोसाको केन्द्र बनाउनुपर्छ। युवाको भविष्य, श्रमिकको सम्मान, किसानको समृद्धि, उद्यमीको उत्साह, प्रवासी नेपालीको अपेक्षा, लोकतान्त्रिक मूल्यको संरक्षण र राष्ट्रको समुन्नतिलाई कांग्रेसको राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्छ।
अब प्रश्न कसको गुट ठूलो भन्ने होइन। प्रश्न कांग्रेस कति ठूलो बनाउने भन्ने हो। प्रश्न कसले कसलाई विस्थापित गर्ने भन्ने होइन। प्रश्न कांग्रेसलाई जनताको मनबाट विस्थापित हुन नदिने भन्ने हो। प्रश्न कसले नेतृत्व गर्ने भन्ने मात्र होइन। प्रश्न नेतृत्वले कांग्रेसलाई कुन दिशामा लैजाने भन्ने हो।
त्यसैले आज हामी सबैले आत्मसमीक्षा गरौँ। आफ्नो पक्षलाई सही सावित गर्नुभन्दा कांग्रेसलाई सही दिशामा लैजाने प्रयत्न गर्नुपर्दछ । व्यक्तिगत महत्वाकांक्षाभन्दा संस्थागत भविष्यलाई प्राथमिकता दिनुपर्छ । क्षणिक लाभभन्दा दीर्घकालीन राजनीतिक संस्कार रोज्नुपर्छ । गुटको घेराभन्दा माथि उठौँ, मनका दूरी घटाउदै र संगठनको शक्तिलाई पुनः जागृत गर्न सक्नुपर्छ ।।
अब गुट होइन अब एकता ,अब विभाजन होइन सहकार्य,
अब प्रतिशोध होइन संवाद गर्दै अब आरोप प्रत्यारोप होइन—संगठन निर्माण गर्दै नेपाली कांग्रेसको उज्ज्वल भविष्य बनाउन पर्छ ।
नेपाली कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो भयो भने राष्ट्र बलियो हुन्छ। त्यसैले नेपाली कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी कुनै एक नेता वा समूहको मात्र होइन, प्रत्येक कांग्रेसजनको जिम्मेवारी हो।
इतिहासले हामीलाई अवसर दिएको छ फेरि एकपटक कांग्रेसलाई विचार, संगठन, अनुशासन, लोकतान्त्रिक संस्कार र विश्वासको बलमा पुनः उभ्याउने। त्यो अवसरलाई गुटगत आग्रह र व्यक्तिगत स्वार्थको साँघुरो घेरामा सीमित गर्नु हुदैन।
एकताबद्ध कांग्रेस नै बलियो कांग्रेस हो।बलियो कांग्रेस नै जनताको भरोसाको कांग्रेस हो।र जनताको भरोसाको कांग्रेस नै लोकतन्त्र र राष्ट्रको भविष्यको सशक्त आधार हो।
सरोज दाहाल
महामन्त्री
नेपाली जनसम्पर्क समिति मलेसिया