०१ साउन २०८३, शुक्रबार
17-07-2026 , Fri
×

दूतावासको सूचनाप्रति मलेसियाका रोजगारदाता कम्पनीहरूको बेवास्ता, श्रमिक भन्छन् : सूचना होइन, अनुगमन चाहियो

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, साउन ०१, २०८३

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM ४,००० सम्म डिपोजिट राख्नुपर्ने सर्त राख्ने गरेका छन्, जसले कामदारलाई थप समस्या पर्ने गरेको गुनासो बढ्दै गएको छ।
यद्यपि, केही कम्पनीहरूले भने राहदानी कामदारलाई नै जिम्मा दिएको र केही अवस्थामा राहदानी हराउने, च्यातिने वा होस्टेलमा आगलागी जस्ता अप्रत्याशित घटनाबाट जोगाउन, आवश्यक पर्दा तत्काल फिर्ता दिने सर्तसहित लिखित सहमतिका आधारमा कम्पनीमै सुरक्षित राखिएको श्रमिकहरूले बताएका छन्।

त्यस्तै, कतिपय श्रमिकले नेपालबाट मलेसिया आउँदाकै बेला करार अवधिभर राहदानी कम्पनीमै राख्ने सर्तसहित कागजी सहमतिमा हस्ताक्षर गरेको जानकारी पनि दिएका छन्। यस विषयमा श्रमिकहरूले वास्तविक अवस्था कम्पनीअनुसार फरक–फरक रहेकाले सम्बन्धित निकायले स्थलगत अनुगमन गरी समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

यतिबेला मलेसियाको अध्यागमन विभाग (Immigration) ले अवैध रूपमा कार्यरत विदेशी कामदारविरुद्ध दैनिक अपरेसन सञ्चालन गर्दै कडाइका साथ पक्राउ अभियान चलाइरहेको छ। यसै क्रममा पछिल्ला केही दिनयता कानुनी रूपमा कार्यरत कामदारहरूलाई समेत कामदार अनुमति पत्र (Permit) देखाउँदा पनि पासपोर्ट नभएको भन्दै पक्राउ गर्ने घटना सार्वजनिक भएका छन्।

केही दिनअघि सपिङ मलमा प्रमिटको प्रतिलिपि (Copy) बोकेर सपिङ गर्न गएका नेपाली श्रमिकहरूलाई प्रमिट देखाउँदा–देखाउँदै पनि पासपोर्ट नभएको भन्दै प्रहरीले हत्कडी लगाएर भ्यानमा राखेको र उनीहरूले भ्यानभित्रैबाट रुदै  प्रत्यक्ष प्रसारण (Live) गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त घटनापछि मलेसियास्थित नेपाली राजदूतावासले विषयलाई गम्भीर रूपमा नलिएको भन्दै चौतर्फी आलोचना भएपछि यही जुलाई १४ मा राजदूतावासले सूचना जारी गर्दै मलेसियामा रहेका नेपालीलाई आफ्नो पासपोर्ट सधैं आफूसँगै राख्न आग्रह गरेको थियो।

दूतावासले मलेसियामा रोजगारी तथा अन्य प्रयोजनले बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई मलेसियाको प्रचलित कानुन तथा नियमहरूको पालना गर्दै बसोबास वा यात्रा गर्दा राहदानी सधैं साथमा राख्न आग्रह गरेको थियो। साथै, रोजगारदाताहरूलाई नेपाली श्रमिकहरूले आफ्नो राहदानी आफैंसँग सुरक्षित राख्न पाउने व्यवस्था सुनिश्चित गर्न पनि अनुरोध गरिएको थियो।

दूतावासले कानुनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमतिबाहेक रोजगारदाताले श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न अनुरोध गरेको थियो। यदि कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिबिना रोजगारदाता वा अन्य कुनै व्यक्तिले नियन्त्रणमा राखेको भए दूतावासलाई जानकारी गराउन पनि अपिल गरिएको थियो।

यसका लागि दूतावासले WhatsApp: +60 16-247 2777 तथा [email protected] मार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको थियो। साथै, मलेसियाको कानुनको पालना गर्दै नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्‍याउने सबै रोजगारदाता तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै कानुनी व्यवस्थाको पालना गर्न अनुरोध गरेको थियो।


तर श्रमिकहरूका अनुसार दूतावासको उक्त सूचनालाई मलेसियामा रहेका धेरै रोजगारदाता कम्पनीहरूले बेवास्ता गर्दै कामदारलाई पासपोर्ट दिन नमानेको गुनासो छ।

उता, श्रमिकहरूले दूतावासमा उजुरी गरे पनि पासपोर्ट पाउनुको सट्टा कम्पनीको नजरमा खराब बन्ने, कम्पनीबाट थप दुःख पाउने डरले धेरैजसो श्रमिक दूतावासमा औपचारिक रूपमा गुनासो गर्न पनि हिच्किचाउने गरेका छन्। उनीहरूको भनाइमा, दूतावासमा उजुरी गरेपछि त्यसको प्रभावकारी फलोअप हुने प्रणाली लगभग शून्यजस्तै रहेको छ, जुन कुरा आफूहरूले प्रत्यक्ष रूपमा अनुभव गरेको उनीहरूको दाबी छ।

यस्तो अवस्थामा दूतावासमा गुनासो गरेर कम्पनीबाट थप दुःख पाइरहनुभन्दा अहिलेको अवस्थामै बस्नुपर्ने बाध्यता रहेको श्रमिकहरू बताउँछन्। लामो समयदेखि मलेसियामा कार्यरत केही नेपालीहरू भन्छन्, “मलेसिया बसेको १४–१५ वर्ष भयो, तर आजसम्म नेपाली कामदारको अवस्था बुझ्न दूतावास कम्पनीमै आएको देखेका छैनौं। हामी आशा मात्रै गर्छौं, तर दूतावासप्रति विश्वास छैन।”

वास्तवमा यो मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले भोगिरहेको यथार्थ हो। जबसम्म वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्यालाई नेपाल सरकार, सम्बन्धित निकाय र विदेशस्थित नेपाली नियोगहरूले प्रभावकारी रूपमा सम्बोधन गर्दैनन्, तबसम्म श्रमिकहरूले यस्ता कष्टपूर्ण अवस्था भोगिरहनुपर्ने देखिन्छ।

के छ मलेसियाको कानुन/करारमा पासपोर्ट सम्बन्धी व्यवस्था ?
मलेसियाको Standard Employment Contract को धारा २० (Safekeeping of the Passport) अनुसार:
२०.१ रोजगारदाताले (Employer) कामदारको राहदानी (पासपोर्ट) आफ्नो नियन्त्रण (Custody) मा राख्न पाउने छैन।

२०.२ कामदारले आफ्नो राहदानी सधैं आफूसँग राख्नुपर्ने व्यवस्था छ। यदि राहदानी कामदारकै साथमा हुँदा हरायो वा बिग्रियो भने त्यससँग सम्बन्धित खर्च कामदार स्वयंले बेहोर्नुपर्ने हुन्छ।

२०.३ भने केही विशेष प्रयोजनका लागि मात्र कामदारले आफ्नो राहदानी रोजगारदातालाई दिन सक्छ। ती अवस्थाहरू:
स्वास्थ्य परीक्षण (Medical Screening)
रोजगार अनुमति (Visit Pass – Temporary Employment) को आवेदन
विदेशी कामदार परिचयपत्र (Foreign Worker Identity Card – i-Kad) को आवेदन
रोजगार अनुमति (Visit Pass) नवीकरण
यी काम सम्पन्न भएपछि रोजगारदाताले राहदानी तुरुन्तै कामदारलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ।
यदि माथिका प्रयोजनका लागि रोजगारदाताको जिम्मामा रहेको बेला राहदानी हरायो वा बिग्रियो भने त्यससँग सम्बन्धित सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने उल्लेख गरिएको छ।
Foreign Worker Identity Card (धारा २१)
रोजगारदाताले प्रत्येक विदेशी कामदारलाई Foreign Worker Identity Card (i-Kad) उपलब्ध गराएको सुनिश्चित गर्नुपर्नेछ।

निष्कर्ष
यस करारको व्यवस्थाअनुसार रोजगारदाताले कामदारको पासपोर्ट स्थायी रूपमा आफ्नो नियन्त्रणमा राख्न मिल्दैन। आवश्यक सरकारी प्रक्रिया पूरा गर्नका लागि मात्र अस्थायी रूपमा लिन सकिन्छ र काम सम्पन्न भएपछि अनिवार्य रूपमा कामदारलाई फिर्ता गर्नुपर्छ। साथै, कामदारले सामान्य अवस्थामा आफ्नो राहदानी आफूसँगै राख्नुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]

म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक राेजगारीमा पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने भएकाे छ। आफूले पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भए/नभएको सुनिश्चित गर्नुपर्ने भएकाे हाे। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेकाे छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा–सुविधा, सुरक्षित आवास […]

काठमाडौँ । अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ […]