कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको उत्कृष्ट उदाहरण हो।
मानवीय आधारमा प्रदान गरिएको यस क्षमादानले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाएको सरकारको ठहर छ। हालै नेपालले कतारलाई दुईवटा हात्ती उपहार दिएको विषयलाई पनि कूटनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ।
हाल कतारमा करिब ५ लाख नेपाली नागरिक रोजगारीमा रहेका छन् भने गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपाली श्रमिक रोजगारीका लागि कतार पुगेका थिए। आममाफी पाएका नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।