मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ।
३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर हास्नियाह अब्दुल रजाकले सजाय सुनाएकी हुन्।
अभियोग अनुसार, घटना गत नोभेम्बर १५ राति १२:३० बजे शाहआलमको कोटा केमुनीङ, सेक्सन–३१ स्थित एक अपार्टमेन्टको चौथो तलामा भएको थियो। अर्मानले सो स्थानमा घरेलु जनावर विरालामाथि क्रुर यौन दुर्व्यवहार गरेको अदालतमा प्रमाणित भएको उल्लेख छ।
उनविरुद्धको मुद्दा “Animal Welfare Act 2015” को धारा 29(1)(a) अन्तर्गत दर्ता गरिएको हो, जसमा ३ वर्षसम्म कैद, आरएम १ लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
अदालतमा वकिल विना उपस्थित अर्मानले सजाय कम गरिदिन आग्रह गर्दै भने, “म गल्ती गरेको स्वीकार्छु। सजाय घटाइदिनुहोस्। म नेपाल फर्कन चाहन्छु, मेरी आमा बिरामी छिन्।”
तर उप–अभियोजक नुरुल सोफेआ जेसलले अभियुक्तको कृत्य “घिनलाग्दो र समाजले कहिल्यै सहन नहुने” भन्दै कडा सजायको माग गरिन्। उनका अनुसार, “यो घटना सार्वजनिक आक्रोशको विषय बनेको छ, त्यसैले समाजमा स्पष्ट सन्देश जाने गरी कडा सजाय जरुरी छ।”
यसअघि पनि, यही व्यक्तिलाई गत नोभेम्बर २१ मा वैध कागजातविना मलेसियामा बसेर काम गरेको र अर्धनग्न अवस्थामा पाइएको अभियोगमा अदालतले ४ महिनाको जेल सजाय सुनाइसकेको थियो।