०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हरायाे 

Logo
HeroNepal-Tv प्रकाशित बिहिबार, कार्तिक १४, २०८२

वैकल्पिक गोलरक्षक अञ्जना रानामगर टाइब्रेकरमा चम्किएपछि बुधबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई ३–० ले हराएको छ । दुई दिनको अन्तरमा नेपालले भारतमाथि दोस्रोपटक जित निकालेको हो । समग्रमा २० अन्तर्राष्ट्रिय भारतविरुद्धको खेलमा नेपालले पाँचौँपटक सफलता प्राप्त गरेको हो । गत सोमबार पनि नेपालले त्रिकोणात्मक मैत्रीपूर्ण फुटबलमा भारतलाई २–१ ले पाखा लगाएको थियो ।

सिक्किमको पाल्जोर रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट हुँदा नेपालकी गोलरक्षक रानामगरले भारतका दुई प्रहार छेक्दै जित दिलाइन् । नेपालको चारमध्ये तीन गोल भएको थियो । भारतीय तीनजना खेलाडी पेनाल्टीमा चुके । नेपालको जितमा सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरको प्रहार गोल भएको थियो । नेपालकी कप्तान अनिता बस्नेतको प्रहार बाहिरियो । भारतका प्रिया दर्शनी र अष्टम ओरामको पेनाल्टी प्रहार रानामगरले रोकिन् । भारतकी सन्तोषको प्रहार बाहिरिएको थियो ।

नेपालका प्रशिक्षक नवीन न्यौपानेले सोमबार भारतविरुद्ध खेलेका १० खेलाडीलाई सिक्किममा विश्राम दिएका थिए । भारतले पनि पहिलो एघारमै नयाँ खेलाडीलाई अवसर दिएको थियो । प्रशिक्षक न्यौपानेले ९० मिनेटपछिको इन्जुरी समयमा गोलरक्षक उषा नाथको स्थानमा अञ्जनालाई मैदान छिराएका हुन् । उषाले सन् २०१९ पछि पहिलोपटक खेल्ने अवसर पाएकी हुन् । यसअघि सिलोङमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो । सो खेलमा नेपाल उपविजेता हुँदा इरान च्याम्पियन भएको थियो । एन्फाको प्रतियोगिता आयोजना समितिका संयोजक सञ्जीव मिश्रका अनुसार भारतविरुद्ध भएको दोस्रो खेल पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हो ।

भारतको सुरुवाती अग्रता
घरेलु मैदानमा भारतले खेलको ३०औँ मिनेटमा १–० को अग्रता लियो । नेपाली डिफेन्डर निशा थोकरको गल्तीमा सौम्या गुगुलोथले भारतलाई १–० को अग्रता दिलाइन् । सौम्यको सटीक प्रहारलाई गोलरक्षक उषाले रोक्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो । रश्मिकुमारी घिसिङले नेपाललाई १–१ को बराबरीमा ल्याइन् । उनले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडिङ गोल गरिन् । भारतविरुद्ध उनको यो दोस्रो गोल हो । यसअघि सन् २०२२ मा उनले भारतविरुद्ध विजयी गोल गरेकी थिइन् ।

नेपाल र भारतले गरे नयाँ खेलाडी प्रयोग
भारतसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक न्यौपानेले १० नयाँ खेलाडीलाई मौका दिएका थिए । अघिल्लो खेलमा भारतसँग प्रतिस्पर्धा गरेका ११ मध्ये एक खेलाडीलाई निरन्तरता दिँदै न्यौपानले १० खेलाडीलाई मौका दिएका हुन् । भारतले पनि नेपालविरुद्ध नयाँ सेट खेलाएको थियो । सोमबार प्रतिस्पर्धा गरेका ११ जना खेलाडीलाई भारतीय प्रशिक्षकले विश्राम दिए । भारतले पूरै युवा खेलाडीलाई प्रतिस्पर्धा गराएको थियो । भारतविरुद्ध नेपालको कप्तानी मिडफिल्डर अनिता बस्नेतले गरिन् । दोस्रो हाफमा आफूभन्दा सिनियर रेनुका नगरकोटेबाट उनले कप्तानी आर्मब्यान्ड लगाएकी थिइन् ।

नियमित कप्तान सावित्रा भण्डारीसहित गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राईले भारतविरुद्ध खेलेनन् । तीनजना खेलाडी वैदेशिक खेलका लागि भारतबाटै आ–आफ्नो क्लबमा आबद्ध भएका थिए । भारतविरुद्ध पूर्णिमा राईले डेब्यु गरिन् । डिफेन्डरमा हिराकुमारी भुजेल, निशा ठोकर, विमला विक र प्रतीक्षा चौधरीले भारतविरुद्ध खेले । विमलाबाहेक सबै खेलाडीले टोलीमा पुनरागमन गरेका हुन् । यता, मिडफिल्डमा कप्तान अनिता र पूर्णिमासहित सरु लिम्बू र सरस्वती हमालले अवसर पाए । यसअघि खेलेका सविता रानामगर र पूर्वकप्तान रेनुका नगरकोटीले दोस्रो हाफमा प्रतिस्पर्धा गरिन् ।

पहिलो हाफमा मौका गुमाए : नवीन न्यौपाने, प्रशिक्षक, नेपाल
भारतसँगको प्रतिस्पर्धामा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थियौँ । तुलनात्मक रूपमा दोस्रो हाफमा त्यति पोस्ट चार्ज गर्न सकेनौँ । पहिलो हाफमा नेपालले सातवटा गोल अवसर गुमाएको थियो । नयाँ सेटको भारतले एक मौकामा हामीविरुद्ध गोल गर्‍यो । पहिलो हाफमा भारत र दोस्रोमा नेपालले बल पोसेसन बनाएको थियो । पेनाल्टीमा भारतको सुरुवातमै असफल प्रहार भएपछि हाम्रा खेलाडीमा कन्फिडेन्स बढ्यो । अझ गोलरक्षक अञ्जनाले दुई पेनाल्टी छेक्दा नेपालको जित पक्का भयो । नेपाली महिला खेलाडीले यस किसिमको एक्सपोजर पाउँदा आगामी दिनमा योभन्दा राम्रो नतिजा निकाल्न सकिन्छ ।

बंगलादेशको नासरिनमा पूजा अनुबन्ध
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले बंगलादेशी क्लब नासरिन स्पोर्टस् एकेडेमीसँग सम्झौताग गरेकी छिन् । बंगलादेशी क्लब नासरिनले बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपका लागि पहिलो विदेशी खेलाडीका रूपमा पूजालाई अनुबन्ध गरेको जनाएको छ । पूजाको यो दोस्रो विदेशी क्लब हो । यसअघि उनले भुटानको ट्रन्सपोर्ट युनाइटेडबाट खेलेकी थिइन् ।

पहिलोपटक आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप नेपालमै आगामी ५ देखि २० डिसेम्बरसम्म हुँदै छ । प्रतियोगितामा नेपालको एपिएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमीको सहभागिता रहनेछ । श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छैनन् । पूजाले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]