०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

अब भिजिट भिसामा विदेश जान सहज बनाइँदै, पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने

Logo
Manoj Dashaudi प्रकाशित बुधबार, कार्तिक १३, २०८२

काठमाडौं । वर्षौँदेखि विवादित भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया अब सरल र सहज बन्ने भएको छ। सरकारले अध्यागमन कार्यविधि संशोधन गरी पासपोर्ट, भिसा र टिकट मात्र हेर्ने तीनबुँदे व्यवस्था लागू गर्न तयारी गरेको हो।

अध्यागमन विभागले अध्यागमन कार्यविधि, २०६५ संशोधन गर्दै झन्झटमुक्त प्रणाली कार्यान्वयनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ। मन्त्रालयले सरोकारवालासँग छलफल गरी छिट्टै स्वीकृति दिने तयारी गरेको छ।

पुरानो छ बुँदे मापदण्ड हट्दै

हाल लागू कार्यविधिअनुसार भिजिट भिसामा विदेश जान ६ बुँदे मापदण्ड पूरा गर्नुपर्थ्यो। जसमा पासपोर्ट, भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ र न्यूनतम ५०० अमेरिकी डलर अनिवार्य देखाउनुपर्ने व्यवस्था थियो।

नयाँ प्रस्तावअनुसार दुईतर्फी टिकट र होटेल बुकिङको प्रावधान हटाइने र ५०० डलर देखाउनुपर्ने नियम पनि रद्द गर्ने तयारी गरिएको विभागले जनाएको छ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, ‘अब कम्तीमा ६ महिनाको वैधता भएको पासपोर्ट, सम्बन्धित देशको भिसा र टिकट मात्र हेर्ने गरी कार्यविधि संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पुगेको छ,’ उनले भने, ‘भिजिट भिसामा देखिएका विकृति हटाएर सर्वसाधारणका लागि सहज प्रणाली ल्याउन लागिएको हो।’

ठगी र दलाली रोक्ने उद्देश्य

सरल प्रावधानले सर्वसाधारण दलाल र अध्यागमन कर्मचारीबाट ठगिने सम्भावना घटाउने अपेक्षा गरिएको छ। तर विदेश गएर समस्या पर्ने जोखिम पनि रहेको भन्दै त्यसतर्फ सम्बोधन हुने प्रावधानसमेत राखिएको मन्त्रालय स्रोतले जनाएको छ।

‘अध्यागमनको मुख्य जिम्मेवारी विदेश जानेलाई होइन, स्वदेश फर्कने व्यक्तिको स्क्रिनिङमा केन्द्रित हुनुपर्छ,’ एक अधिकारीले बताए, ‘अब त्यही नीतिअनुसार अघि बढ्ने तयारी छ।’

भ्रष्टाचार र असुली प्रकरणपछि सुधारको पहल

अघिल्लो सरकारको पालामा गृह मन्त्रालयको समेत मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक करिब ५० लाख रुपैयाँ असुली हुने गरेको खुलेको थियो। सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ।

त्यसपछिका घटनाले सार्वजनिक आलोचना बढेपछि सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा समिति गठन गरी सुधार सिफारिस गर्न लगाएको थियो। समितिले भिजिट भिसा कार्यविधि सरल बनाउने र विदेशस्थित सरकारी संयन्त्र सुदृढ पार्ने सुझाव दिएको थियो।

खाडी मुलुकतर्फको जोखिम यथावत

खासगरी खाडी देशहरू—युएई, कतार, कुवेत लगायतमा घरेलु कामदारका रूपमा नेपाली महिला भिजिट भिसामार्फत जाने र बेचबिखनमा पर्ने घटना बढ्दै आएका छन्। यस्तो जोखिम कम गर्न अध्यागमन कार्यविधिमा सावधानीका उपाय पनि समावेश गरिने बताइएको छ।

‘फिजिकल र आर्थिक हैसियतका आधारमा कसैको विदेश प्रस्थान रोकिँदैन,’ विभागका निर्देशक ढकालले भने, ‘तर शंकास्पद व्यक्तिलाई आवश्यक परेमा सोधपुछ गर्न सकिन्छ।’

यसअघि गृहमन्त्री बालकृष्ण खाणको पालामा १७ बुँदे मापदण्ड लागू गरिएको थियो भने नारायणकाजी श्रेष्ठले त्यसलाई घटाएर ६ बुँदे मापदण्ड कार्यान्वयन गरेका थिए। अहिले पुनः तीन बुँदामा झार्दै सरलीकृत प्रणाली लागू गर्ने तयारी गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]