२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रधानमन्त्री कार्यालयको संरचना फेरबदल, अब ३ सचिव मात्रै रहने, ६८ दरबन्दी हटाउने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, पुष १३, २०८०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अब ३ जना मात्रै सचिव रहने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी हटाउने गरी नयाँ संगठन संरचना स्वीकृत गरेसँगै प्रधानमन्त्री कार्यालय छरिताे बनाउने बाटो खुलेको छ ।

नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे ) अनुसार प्रधानमन्त्री कार्यालयको काटिएको दरबन्दीका कर्मचारीहरु अब अन्यत्र काम गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने घोषणा गरेअनुरुप सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन् ।

प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिङ्गो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’ कार्यबोझभन्दा बढी मात्रामा थुप्रिएका कर्मचारीहरु हटेर कार्यालयको सेवा चुस्त हुने विश्वास प्रधानमन्त्रीको छ ।

नयाँ संगठन संरचनाअनुसार अब सचिवतर्फ प्रशासन तथा शासकीय क्षेत्र, विकास व्यवस्थापन क्षेत्र र कानुन तथा मानअधिकार क्षेत्र हेर्ने तीन सचिव मात्रै रहने छन् । यसअघि प्रशासन, समाजिक विकास, राष्ट्रिय सुरक्षा, आर्थिक र कानुन मामिला हेर्ने ५ सचिव हुने गरी कार्यालयको संगठन संरचना तय थियो । यसले गर्दा प्रधानमन्त्री कार्यालय मन्त्रीहरुले नरुचाएका र कार्यक्षमता कमजोर भएका सचिवहरु थन्क्याउने ठाउँ बन्दै आएको छ ।

अब प्रसासनतर्फका २ जना र कानुन न्यायतर्फका १ जना सचिव मात्रै मुख्यसचिवको मातहतमा प्रधानमन्त्री कार्यालयमा रहनेछन् । अन्य श्रेणीका कर्मचारीहरुको पनि दरबन्दी काटिएको छ ।

नयाँ संगठन संरचना अनुसार प्रधानमन्त्री कार्यालयमा यसअघि १२ जना सहसचिवको दरबन्दी रहेकामा १० जना मात्रै कायम गरिएको छ । ७ जना प्रशासन, २ जना कानुन/न्याय तथा १ जना विविध सेवाबाट सहसचिवको दरबन्दी कायम भएको छ ।

यसअघि ३० जना उपसचिवको दरबन्दी रहेकामा ४ जना कटौती गर्दै २६ वटा कायम भएको छ । शाखा अधिकृतको दरबन्दी भने खुलेको छैन ।

गत साउनमा नै प्रधानमन्त्री कार्यालयमा २ जना मात्रै सचिव राख्ने र १०० भन्दा बढी दरबन्दी कटौती गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश भएको थियो । हाल २३५ जनाको स्थायी र सेवा करारका ७१ वटा दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा सबैजसो पदमा दरबन्दी कटौती गर्न प्रस्ताव गरिएको थियो ।

तर, प्रशासनतर्फका सहसचिवहरुको तीब्र दबाबमा दरबन्दी पटक–पटक थपथाप गरेर ६८ मा झारेको कार्यालय स्रोत बताउँछ ।

प्रधानमन्त्रीको निजी सचिवालयमा दुई शाखा अधिकृत र १ नायब सुब्बाको दरबन्दी कटौती भएको छ । अब प्रधानमन्त्रीको सचिालयमा १ सहसचिव, १ उपसचिव, १ शाखा अधिकृत र १ नायब सुब्बा रहनेछन् । कम्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगी २/२ जना मात्रै रहनेछन् । यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा १/१ जना प्रेस सल्लाहकार र कार्यक्रम उत्पादन तथा प्रशारण विज्ञसहित ६/६ जना भाषण मन्तव्य तथा वक्तव्य मस्यौदा विज्ञ र सूचना प्रविधि तथा सञ्चार विज्ञ राखिएको थियो । अब भने सो पदहरुलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फबाट व्यवस्थापन गरिने नयाँ संगठन संरचनामा उल्लेख छ ।

प्रधानमन्त्रीको सल्लाहकारको सचिवालयतर्फ पनि १० जनाको दरबन्दी कटौती भएको छ । ३ जना शाखा अधिकृत, ३ जना कम्प्युटर अपरेटर र हलुुका सवारी चालक तथा कार्यालय सहयोगीको २/२ जनाको दरबन्दी काटिएको छ । अब प्रधानमन्त्रीको सल्लाहकारको सचिवालयमा उपसचिव १, शाखा अधिकृत १, नायब सुब्बा –१ हलुका सवारी चालक २ र कार्यालय सहयोगी २ जना रहनेछन् ।

सल्लाहकार सचिवालयमा राखिएको परराष्ट्र तथा सुरक्षा सल्लाहकार, जनसम्पर्क सल्लाहकार र आर्थिक सल्लाहकारको दरबन्दी पनि प्रधानमन्त्रीको स्वकीय सचिवालयबाटै व्यवस्थापन गरिने भएको छ । संगठन संरचनामा रहेको ‘विज्ञ समूह’को संरचना पनि हटेको छ ।

सचिवहरुलाई यसअघि दिइने गरेको १/१ जना हलुका सवारी चालक र कार्यालय सहयोगीको दरबन्दी हटेको छ । बरु मुख्यसचिवको सचिवालयमा १ उपसचिव, १ शाखा अधिकृत, २ कम्प्युटर अपरेटर, २ कार्यालय सहयोगी र २ हलुका सवारी चालकको नयाँ दरबन्दी कायम भएको छ ।

महाशाखाको पुनर्संरचना

प्रधानमन्त्री कार्यालयका अनुसार यसअघि कार्यालयमा ११ वटा महाशाखा रहेकामा त्यसमध्ये केहीलाई गाभेर ९ वटामा घटाइएको छ । यअसघि २७ वटा शाखा रहेकामा केहीलाई गाभेर २३ वटामा झारिएको छ । महाशाखाहरुको नेतृत्व सहसचिव र शाखाको उपसचिवहरुले गर्ने छन् ।

अब प्रशासन तथा शासकीय क्षेत्र हेर्ने सचिवको मातहतमा मन्त्रिपरिषद बैठक तथा संवैधानिक सचिवालय महाशाखा, प्रशासन महाशाखा र शासकीय सुधार, प्रादेशिक तथा कूटनीतिक समन्वय महाशाखा रहनेछन् ।

मन्त्रिपरिषद बैठक तथा संवैधानिक सचिवालय महाशाखा अन्तर्गत मन्त्रिपरिषद बैठक शाखा र मन्त्रिपरिषद समिति, संवैधानिक निकाय तथा निर्णय कार्यान्वयन शाखा रहनेछ । यसैगरी प्रशासन महाशाखा अन्तर्गत आन्तरिक प्रशासन शाखा, सूचना, प्रेस तथा संसद समन्वय शाखा, आर्थिक प्रशासन शाखा र प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा पनि रहनेछ । शासकीय सुधार, प्रादेशिक तथा कूटनीतिक समन्वय महाशाखामा सुशासन तथा भ्रष्टाचार नियन्त्रण शाखा, प्रादेशिक तथा कूटनीतिक समन्वय शाखा र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान शाखा रहनेछन् ।

विकास व्यवस्थापन मामिला हेर्ने सचिवमातहत नतिजा व्यवस्थापन महाशाखा, आर्थिक सामाजिक तथा पूर्वाधार महाशाखा, नीति अध्ययन, विश्लेषण तथा समन्वय महाशाखा र सूचना प्रविधि समन्वय महाशाखा हुनेछन् ।

नतिजा व्यवस्थापन महाशाखा अन्तर्गत नतिजा व्यवस्थापन तथा विश्लेषण शाखा, तत्काल समस्या समाधान तथा विपद् समन्वय शाखा र योजना अनुगमन शाखा रहनेछ ।

आर्थिक सामाजिक तथा पूर्वाधार महाशाखाअन्तरगत आर्थिक विकास शाखा, सामाजिक विकास शाखा र भौतिक पूर्वाधार शाखा रहने भएको छ । नीति, अध्ययन, विश्लेषण तथा समन्वय महाशाखा अन्तरगत नीति विश्लेषण तथा समन्वय शाखा, तथ्यांक तथा अभिलेख व्यवस्थापन शाखा रहनेछ । सूचना प्रविधि समन्वय महाशाखा अन्तर्गत भने सूचना प्रविधि शाखा र हेलो सरकार रहनेछन् ।

कानुन तथा मानव अधिकार क्षेत्र हेर्ने सचिव मातहत कानुन तथा फैसला कार्यान्वयन महाशाखा र मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा रहनेछन् ।

कानुन तथा फैसला कार्यान्वयन महाशाखा मातहत कानुन शाखा र फैसला कार्यान्वयन शाखा रहनेछन् । अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाभित्र मानव अधिकार शाखा र अन्तर्राष्ट्रिय कानुन, सन्धि सम्झौता शाखा रहनेछ ।

नयाँ दरबन्दी तेरिजमा प्रधामनन्त्रीको निजी सचिवालय र सल्लाहकार सचिवालयको दरबन्दी ‘प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०७४ अनुसार हुने व्यवस्था गरिएको छ । यसले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा नियुक्तिको बाटो भने खुला नै राखेको छ ।

मन्त्रालयहरुलाई दबाब

१४ पुस २०७८ को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा सिर्जना भएका एक प्रशासनतर्फका सचिवका पद अवकाशपछि स्वतः खारेज हुने निर्णय पनि भएको छ । हलुका सवारी चालक र कार्यालय सहयोगीको पद सेवा करारमा आधारित हुने पनि निर्णयमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयको संगठन संरचना बदलिएपछि अब अन्य मन्त्रालयहरुलाई पनि छिटो दरबन्दी कटौती गर्न दबाब परेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारको चालु खर्च घटाउन सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानहरुमा मंसिर महिनाभित्रै सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरवन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेको थियो । सम्बन्धित मन्त्रालय र निकायले संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्नुपर्ने व्यवस्था बजेटले गरेको थियो ।

यही घोषणाअनुसार सबैजसो मन्त्रालयहरुले मन्त्रालय र मातहतका विभाग तथा कार्यालयहरुको नयाँ संगठन संरचना बनाएर स्वीकृत गर्न प्रक्रिया अघि बढाए पनि टुंगो लगाउन सकेका छैनन् ।

नयाँ संगठन संरचनामा सूचना प्रविधिसम्बद्ध जनशक्तिको दरबन्दी थप्नैपर्ने भएकाले अन्य प्रशासनिक दरबन्दी कटौती गर्दा पनि संगठनको आकारमा ठूलो फेरबदल हुन नसक्ने मन्त्रालयहरुको प्रारम्भिक निष्कर्ष छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]