२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

रूपन्देही–३ उपनिर्वाचन : माओवादी–रास्वपा गठबन्धन बन्न सक्ने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र १८, २०८२

काठमाडौँ : कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि अन्य दलहरूले तयारीलाई तीव्रता दिँदा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र भने मौन छ।

अन्य दलहरूले उपनिर्वाचनको नतिजा हात पार्न विभिन्न रणनीतिक तयारी गरिरहँदा माओवादीलाई उपनिर्वाचनले त्यत्ति छोएको छैन।

माओवादीमा उम्मेदवार सिफारिस र घोषणा त परको कुरा, पार्टीमा पर्याप्त छलफलसमेत नभएको नेताहरू बताउँछन्। उम्मेदवार छनोट प्रक्रियामै भइरहेको ढिलाइपछि माओवादीले अन्य दललाई समर्थन गर्न सक्ने लख काट्न थालिएको छ। खासगरी पछिल्लो समय बढेको माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको निकटतालाई उपनिर्वाचनसँग जोड्न थालिएको छ।

भिजिट भिसा अवैध असुली प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका सन्दर्भमा संसद्‌मा विभाजित भएका माओवादी र रास्वपा पछिल्लो समय नजिकिएका छन्। भिजिट भिसा प्रकरणबाहेकका मुद्दामा उनीहरू सँगै देखिन्छन्। रास्वपा पृष्ठभूमिकी सभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस–एमालेको तयारीविरुद्ध अन्य विपक्षीलाई पनि साथ लिएर माओवादी–रास्वपा एक भए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गतिविधि र अभिव्यक्तिले पनि रास्वपासँग नजिक रहेको प्रष्ट्याउँछ। सहकारी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने भेट्न ४ भदौमा उनी नख्खु कारागार पुगेका थिए। अभिभावकको नाताले रविलाई भेट्न गएको प्रचण्डले बताएका थिए।

पछिल्लो आमनिर्वाचनपछि प्रचण्ड करिब डेढ वर्ष प्रधानमन्त्री हुँदा रवि दुईपटक गृहमन्त्री बनेका थिए। त्यसकारण पनि ‘अभिभावक हुनुको नाताले…’ भन्ने प्रचण्डको भनाइ त्यति अस्वाभाविक थिएन।

केही दिनअघि प्रचण्डले त्योभन्दा पनि एक कदम अघि बढेर रास्वपा बचाउने जिम्मेवारी नै आफूले लिएको बताए। १२ भदौमा माओवादी कोशी प्रदेश सचिवालय बैठकमा रास्वपाप्रति सहानुभूति देखाइरहेको भन्दै नेताहरूले प्रश्न उठाएपछि जवाफमा उनले रास्वपा बचाउनु अहिलेको आवश्यकता रहेको बताएका हुन्।

‘ओली–देउवा नेतृत्वको गठबन्धन बनेका वेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो’, प्रचण्डको भनाइ थियो।

माओवादीको घुमाउरो स्वीकारोक्ति

रूपन्देही–३ माओवादीको जनमत निकै कमजोर भएको क्षेत्र हो। गत आमनिर्वाचनमा कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई सघाएको माओवादीले समानुपातिकतर्फ पाएको मत दयनीय छ।

त्यस क्षेत्रमा नाउपा, जसपा नेपाल, लोसपा र जनमतभन्दा पनि माओवादी तल छ। गत आमनिर्वाचनमा उसले समानुपातिकतर्फ जम्मा दुई हजार ६३७ मत पाएको थियो। जसकारण पनि माओवादीले आफ्नो उम्मेदवार उठाउने सम्भावना न्यून देखिन्छ।

त्यसो त माओवादी नेताहरू नै पार्टीले आफ्नै उम्मेदवारी दिने सम्भावना कम रहेको घुमाउरो ढंगले स्विकार्छन्। जनमत कमजोर भएको अवस्थामा के गर्ने वा कस्ता उम्मेदवार उठाउने भन्ने विषयमा स्थानीय कमिटीसँग छलफल भइरहेको माओवादी सचिव दीनानाथ शर्मा बताउँछन्।

‘संगठनका हिसाबले त्यो (रूपन्देही ३) त्यति बलियो आधार क्षेत्र होइन हाम्रो’, उनी भन्छन्, ‘अहिले हामी त्यहाँ उम्मेदवार उठ्ने, उठाउने सबै सम्भावनाबारे स्थानीय कमिटीसँग छलफल–सल्लाह गर्दै छौँ । अबको बैठकमा यसबारे छलफल गर्छौँ। दल दर्ता भोलि गर्छौँ अनि त्यसपछि सबै कुरा अघि बढ्छ।’

अहिल्यै मुख नखोल्ने नीति

आफ्नै उम्मेदवार उठाउने सम्भावना कम भए पनि यो कुरा भनिहाल्ने पक्षमा माओवादी नेताहरू देखिँदैनन्। माओवादी सचिव शर्मा गठबन्धन नगर्ने गरी नै छलफल भने भइरहेको बताउँछन्।

तदनुसार स्थानीय कमिटीलाई तयारी गर्न भनिएको उनको भनाइ छ। ‘हामी गठबन्धन नगर्ने गरी नै छलफल गरिरहेका छौँ’, शर्मा भन्छन्, ‘स्थानीय कमिटीलाई उम्मेदवार चाहिँ तयार गर्नुस् भनेका छौँ। अब तल्ला कमिटीले के गर्छ, कसो गर्छ ? उहाँहरू छलफलमा हुनुहुन्छ।’

स्थायी कमिटी सदस्यसमेत रहेका रूपन्देहीका माओवादी नेता हकिकुल्ला मुसलमान पनि गठबन्धन नगर्ने गरी छलफल भइरहेको बताउँछन्। रूपन्देहीमै पार्टीको अवस्थाबारे बुझिरहेका उनी भन्छन्, ‘आफ्नै उम्मेदवार उठाउने गरी छलफल भइरहेको छ।’

रास्वपा नेताहरूले पनि पछिल्लो समय माओवादीसँग राजनीतिक रूपमा एकै ठाउँ उभिएको बताउँदै आएका छन्। रास्वपाले उपनिर्वाचनका लागि लामो प्रक्रिया पूरा गरेर उम्मेदवार नै घोषणा गरिसकेको छ।

आइतबार साँझ रूपन्देहीकै डा. लेखजंग थापालाई रास्वपाले उम्मेदवार घोषणा गरेको हो। यद्यपि, उम्मेदवार थापा प्रारम्भमै विवादमा मुछिए। रास्वपासँग चुनावी गठबन्धन भए माओवादीले थापालाई नै सघाउनेछ।

अन्य दलहरूको तयारी

नेपाली कांग्रेस गुटगत समस्या समाधान गरेर सर्वसम्मत उम्मेदवार सिफारिस र चयन गर्नेतर्फ केन्द्रित छ। यसका लागि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक रूपन्देही पुगिसकेका छन्।

कांग्रेसबाट गत आमनिर्वाचनमा पराजित बालकृष्ण खाण नै बलिया दाबेदार हुन्। यद्यपि यसबारे उनी अहिलेसम्म मौन छन् भने पार्टीमा अन्य आकांक्षीहरू पनि छन्।

नेकपा एमालेमा पार्टी केन्द्रको निर्देशनअनुसार साउनको अन्तिम साता नै उम्मेदवारका लागि चारजनाको नाम सिफारिस भएको छ। जसमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईसहित नेताहरू शशि पौडेल, हरिप्रसाद अधिकारी र यज्ञजित शाह छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा एक महिनाअघि नै ६ जनाको नाम सिफारिस भएको छ। राप्रपाकै दीपक बोहराको निधनपछि रूपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले बोहोराकै दुई छोराहरू गौरव र प्रज्वलसहित केन्द्रीय सदस्यद्वय वसन्तविक्रम शाही, स्वाति थापा, जिल्ला अध्यक्ष सागरप्रताप राणा तथा दिलीपकुमार मल्लिकको नाम सिफारिस गरेको थियो तर उम्मेदवार टुंग्याइसकेको छैन। आन्तरिक उम्मेदवार छान्ने तयारी राप्रपाकाे छ।

यसैगरी एकीकृत समाजवादीमा पनि महासचिव घनश्याम भुसालसहित ७ जनाको नाम सिफारिस भएको छ। पार्टीको रूपन्देन्ही कमिटी बैठकले महासचिव भुसालसहित लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल, रूपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह र रूपन्देही–१ को सहइञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरेको हो।

जनमत पार्टीले पनि धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय मंगलबार गरेको छ। गत आमनिर्वाचमा नाउपाबाट रूपन्देही १ मा उम्मेदवार बनेका उनी केही समयअघि मात्रै जनमत पार्टीमा गएका थिए।

यसाबहेक अन्य साना दल पनि तयारीमा व्यस्त छन् भने स्वतन्त्र उम्मेदवारी दिन लागेका कतिपयले त घरदैलोसमेत थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) मलेसिया यसअघि विद्यमान दुई संरचनाबीचको विभाजन अन्त्य गर्दै औपचारिक रूपमा एकीकृत भएको घोषणा गरिएको छ। यस एकतासँगै संगठनभित्र लामो समयदेखि कायम रहेको संस्थागत अस्थिरता समाप्त भई साझा उद्देश्य, अनुशासन र सहकार्यमा आधारित संरचना पुनःस्थापित भएको बताइएको छ। एकीकृत NRNA मलेसिया अब अध्यक्ष इन्द्र नारायण लिम्बुको नेतृत्वमा […]

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]