काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको सबै सम्बन्ध समाप्त भएको बताएका छन् । आइतबार बाह्रखरीसँगको कुराकानीका क्रममा रेशमले आफूलाई ‘कुनै जानकारी नै नदिई’ केन्द्रीय समितिको बैठक बोलाएर रन्जिताले आफूसँगका सबै सम्बन्ध समाप्त गरेको बताएका हुन् ।
नाउपाको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । रन्जिताले बोलाएको बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुखलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोग अद्यावधिकलगायत विषयमा छलफल हुने रन्जिताले लेखको पत्रमा उल्लेख छ ।
तर, पार्टीका संस्थापक रेशमले आफूलाई बैठकबारे कुनै जानकारी नरहेको दाबी गरे । “मलाई औपचारिक जानकारी केही छैन, मैले पनि सामाजिक सञ्जाल र मिडियाबाटै यो कुरा थाहा पाएको हो,” बाह्रखरीसित रेशमले भने ।
उनले थपे, “हामीलाई जानकारी नै नगराई कसरी बैठक बोलाएपछि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मसँगको सबै प्रकारका सम्बन्ध समाप्त गर्न खोजिएको देखिन्छ । उहाँले सबै सम्बन्ध समाप्त पार्नुभयो,” उनले भने ।
रेशमले आफू जेलमा रहेका बेला पार्टी स्थापना गरेको स्मरण गरे । “मैले दुःख गरेर जेलभित्रैबाट पार्टी स्थापनाका लागि मरिहत्ते गरेको छु । अहिले आएर एकलौटी बनाइयो । मलाई बाइपास गरेर जान खोजियो तर माग–मुद्दाका बारेमा मेरो आवाज कहिले पनि दबिने छैन । सधैँ बुलन्द गर्नेछु,” उनले भने ।
अब समानान्तर दल दर्ता गर्ने सम्भावनाबारे बाह्रखरीले राखेको जिज्ञासामा रेशमले अर्को पार्टी खोल्ने कुनै सम्भावना नहरेको बताए ।“त्यो त हुँदैन, मैले अर्को पार्टी खोल्ने कुरै हुँदैन । म सांसद पनि छैन, कुनै प्रतिनिधि पनि होइन । नागरिक उन्मुक्ति पार्टीको नामले मलाई सबैले चिन्नुहुन्छ । मैले उठाएको माग–मुद्दालाई नै निरन्तरता दिन्छु,” उनले भने ।
रेशम पक्षका सांसद, जनप्रतिनिधिले रन्जिताले बोलाएको बैठकमा उपस्थित नहुने बताएका छन् ।
यसअघि, साउन १६ गते बसेको रेशम पक्षको राष्ट्रिय भेलाले रन्जितालाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर, निर्वाचन आयोगले कारबाहीलाई मान्यता नदिएपछि रन्जिता नै अध्यक्षमा छिन् । त्यसपछि पहिलोपटक रन्जिताको आह्वानमा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।