क्वालालम्पुर, मलेसिया – विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेका छन्।
कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा अतिथिहरूको आगमनका क्रममा विभिन्न जातीय संघ–संस्था, मलेसियामा क्रियाशील नेपाली समुदायका प्रतिनिधिहरू तथा नेपाली राजदूतावास, मलेसियाका पदाधिकारीहरूको सक्रिय सहभागितामा भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।
स्वागतका क्रममा अतिथिहरूलाई परम्परागत सांस्कृतिक पहिरन, फूलमाला, खादा तथा आदिवासी शैलीअनुसार सम्मानपूर्वक स्वागत गरिएको थियो। मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई आकर्षक बनाउनुका साथै उपस्थित सबैमा एकता, पहिचान र गर्वको भावना थप गहिरिएको देखिएको छ।
नेपालबाट आगमन भएका विशिष्ट अतिथिहरूको उपस्थितिले प्रवासी भूमिमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनलाई थप गरिमामय तथा प्रेरणादायी बनाएको आयोजकले बताएका छन्। कार्यक्रममा आदिवासी जनजाति समुदायको हक–अधिकार, अस्तित्व र सांस्कृतिक पहिचानका विषयमा सशक्त आवाज उठाउने तयारी गरिएको छ।
महाधिवेशन सफल बनाउन विभिन्न जातीय संघ–संस्था, नेपाली समुदाय तथा स्वयंसेवकहरूको समर्पणशील भूमिकाप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

