मलेसिया | गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसीसी) मलेसियाले आगामी अधिवेशन ‘एकताको अधिवेशन’को रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। कार्यसमिति बाहिर रहेका अग्रज, पूर्वअध्यक्ष तथा सल्लाहकारहरूको सक्रिय पहलमा गरिएको एकताको प्रयासप्रति संघले आभार व्यक्त गरेको छ।
संघका अध्यक्ष राकेश महत्तोका अनुसार, सबैलाई समेटेर सहमतिको आधारमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै अधिवेशनलाई साझा सहभागितामूलक बनाउने पहल गरिएको हो। यसअघि जुलाई २७, २०२५ मा अधिवेशनको मिति तोकिएको भए पनि, एकताको बैठकमा उक्त मिति सारेर अगष्ट ३० र ३१ तय गरिएको थियो। तर प्राविधिक कारणवश पुनः मिति जुलाई २७ मै समायोजन गर्नुपर्ने अवस्था आएको बताइएको छ।
केन्द्रीय विधानअनुसार राष्ट्रका सबै एनसीसीहरूले जुलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले, सोही अनुसार मिति भित्रै अधिवेशन सम्पन्न गर्न संघ बाध्य भएको छ। यस सन्दर्भमा निर्वाचनको कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ।
एनआरएनए मलेसियाको आफ्नै छुट्टै सदस्यता पोर्टल नभएकाले, सदस्यता नविकरणका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) अन्तर्गत रहेको MIS प्रणालीलाई मान्यता दिइएको छ।
महत्तोले विधानको पालना गर्दै अधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण सदस्यहरू, शुभेच्छुकहरू तथा सरोकारवालाहरूलाई सहकार्य र सहभागिताका लागि आग्रह गरेका छन्। 