०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

देशिक रोजगारीमा जानेको संख्या हालसम्मकै उच्च, दैनिक २३ सय नेपालीले छाडे देश

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन ०३, २०८२

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका छन् । “२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा कुल आठ लाख ३९ हजार २७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले  जानकारी दिए ।

यो संख्या भारतबाहेकका देशमा श्रम स्वीकृति लिएर जाने नेपालीहरूको हो । भारतमा काम गर्न नेपालीलाई श्रम स्वीकृति नचाहिने हुँदा त्यहाँ काम गर्न जानेको संख्या यहाँ जोडिएको छैन ।

यसअघि सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा आर्थिक वर्ष २०७९/८० मा गएका थिए । उक्त वर्ष सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जान सात लाख ४१ हजार २९७ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उक्त वर्षभन्दा गत आर्थिक वर्ष २०८१/८२ मा ९७ हजार ९७३ जना बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

बितेको वर्ष श्रम स्वीकृति लिने आठ लाख ३९ हजार २७० जनामध्ये पुरुष सात लाख ४४ हजार ८०८ र महिला ९४ हजार ४६२ जना थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १३.२१ प्रतिशतले वृद्धि भएको छ ।

श्रम स्वीकृति लिने अधिकांश वैदेशिक रोजगारीमा जाने गर्छन् । विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा दैनिक औसतमा दुई हजार २९९ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्ष अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५०, जेठमा ७४ हजार ४४६ जना र असारमा ७८ हजार ८७९ जनाले श्रम स्वीकृति लिएका छन् ।

“वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब र कतार गएको देखिन्छ,” विभागका प्रवक्ता शिवाकोटीले भने ।

शिवाकोटीका अनुसार, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली गएका प्रमुख १० देशमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया र बहराइन छन् ।

रोजगारी खोज्दै सबैभन्दा बढी नेपाली गएका १० देशमा पाँचवटा खाडी राष्ट्र, दुईवटा उत्तरपूर्वी एसियाली राष्ट्र र दुईवटा युरोपेली राष्ट्र रहेका छन् ।

विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष यूएईमा दुई लाख ७४ हजार ५९१, साउदी अरेबियामा एक लाख ५२ हजार ५९७, कतारमा एक लाख ४० हजार ७९१, कुवेतमा ५९ हजार ६५, मलेसियामा ४९ हजार १८७, रोमानियामा २७ हजार ८७४, जापानमा २३ हजार ७१, दक्षिण कोरियामा १४ हजार २२४, क्रोएसियामा १३ हजार ८३५ र बहराइनमा ११ हजार ६२४ जना नेपाली श्रम स्वीकृति लिएर गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेमध्ये ९१.३७ प्रतिशत यिनै १० देशमा माग गएको देखिन्छ । पछिल्लो १० वर्षमा विभागले ४६ लाख २१ हजार ४८२ वटा श्रम स्वीकृति जारी गरेको छ । आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरेको हो ।

विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७२/७३ मा चार लाख तीन हजार १७४ जना, २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ जना, २०७४/७५ मा तीन लाख ५४ हजार ८२ जना, २०७५/७६ मा दुई लाख ३६ हजार २०८ जना, २०७६/७७ मा एक लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

त्यस्तै, २०७७/७८ मा ७२ हजार ८१ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना, २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना, २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना र २०८१/८२ मा आठ लाख ३९ हजार २७० जना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

बितेको ३२ वर्षमा विभागले वैदेशिक रोजगारीमा जानेहरूको नाममा ८५ लाख ५१ हजार ४६६ वटा श्रम स्वीकृत जारी गरेको छ । आर्थिक वर्ष २०५०/५१ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति विभागले प्रदान गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]