०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

एमालेमा ७० वर्षे उमेरहदमा भण्डारीकाे अडान

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आषाढ ०६, २०८२

एमालेको विधान महाधिवेशन आउँदो भदौमा हुने तय भइसकेको छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म गर्ने निर्णय भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्। एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा अर्को महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार नै बन्न पाउनेछैनन्। यस्तो अवस्थामा नेतृत्वका लागि अघि सर्ने मनस्थितिमा भण्डारी छन्। विधान महाधिवेशनबाट पार्टीमा उमेरहद ७० वर्ष कायम गर्ने र मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने निर्णय गराएर आफू नेतृत्वमा पुग्ने योजना भण्डारीको छ।

पार्टीमा तेस्रोपटक अध्यक्ष बन्न अवरोध हुने अवस्था देखिएमा ओली विधान महाधिवेशनबाटै अवरोध हटाउने तयारीमा जुट्ने बताइएको छ। उनले यो विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ‘भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले यसबारे निर्णय लिनेछ,’ ओलीनिकट एक पदाधिकारीले भने।

पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई भेटेर आफू एमाले राजनीतिमा सक्रिय हुने बताइसकेकी छन्। उनले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी हुन्। ‘उहाँहरूबीच डेढ घण्टा कुराकानी भयो, विद्या भण्डारीले पार्टी राजनीतिमा आउने स्पष्ट भन्नुभयो। अध्यक्षज्यूले सल्लाह गरौंला, दुईवटा समूह बनाउनुहुँदैन मात्र भन्नुभयो,’ भण्डारी निकट एक नेताले भने।

ती नेताका अनुसार भण्डारीले पार्टीमा देखिएका समस्या समाधान गर्न आफू सक्रिय राजनीतिमा आउन लागेको बताएकी थिइन्। ‘पार्टीभित्र धेरै असन्तुष्टि छन्, निश्चित तहमा बसेर असन्तुष्टि हटाइनुर्छ, पार्टी कार्यकर्तालाई सधैं असन्तुष्ट बनाएर नेतृत्वमा बस्न पनि अनुपयुक्त हुन्छ,’ भण्डारीलाई उद्धृत गर्दै ती नेताले भने। अध्यक्ष ओलीले पार्टीभित्र दुई नेतालाई देखाएर खेल्न खोज्नेहरू सक्रिय भएको पनि बताएका थिए। एमालेभित्र उमेरहदको विषय यतिखेर चर्चाको शिखरमा छ। विधान महाधिवेशनबाट ७० वर्षे उमेरहदबारे एमालेले कस्तो नीति लिन्छ भन्नेमा पार्टीभित्रै धेरै चासो छ। ७० वर्षे उमेरहद लागु भए एमालेबाट ओलीसहित पाँच नेता एकसाथ बिदा हुनेछन्। त्यसपछि स्वतः दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनेछ। त्यही दोस्रो पुस्ताको नेतृत्व गर्दै भण्डारी पार्टी राजनीतिमा आउन लागेको एमालेका केही नेताको बुझाइ छ। भण्डारी ६४ वर्ष उमेरमा हिँडिरहेकी छिन्।

यतिबेला एमालेभित्र र बाहिरको एउटा समूहले भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने बताइरहेको छ। ‘एमालेभित्रको एउटा पक्ष र एमालेबाहिरको एउटा पक्षले भण्डारीको नाममा वाम एकता हुने सपना बाँडिरहेको छ तर विधान महाधिवेशनअघि ओली र भण्डारीबिच यो विषयमा व्यापक छलफल हुन सक्छ,’ भण्डारी निकट एक नेताले भने। ओली–भण्डारीको भेटले एमाले संगठन पंक्तिमा हलचल पैदा भएको छ ।

ओलीले गत जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रका अवसरमा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएका थिए। ओलीलाई ‘काउन्टर’ दिँदै भण्डारीले पनि एमाले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैलाई सोधिरहनु नपर्ने बताएकी थिइन्।

ओलीको अभिव्यक्तिबाट असन्तुष्ट बनेकी भण्डारीले मंगलबार ओलीसँग भेटेर विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद कायम गर्नुपर्ने बताएकी थिइन्। भण्डारी निकट नेताका अनुसार भण्डारीले राजनीतिमा आउने प्रष्ट धारणा राखिसकेकी छिन् ।भण्डारीको स्वकीय सचिवालयका डा. भेषराज अधिकारीले आफू काठमाडौं बाहिर भएकाले भेटघाटमा केके कुरा भयो भन्नेबारे जानकारी नभएको बताए। ‘म काठमाडौंबाहिर थिएँ, उहाँहरूबीच भेटघाट भएको थियो, कुराकानीको विषयबारे जानकारी छैन,’ अधिकारीले भने।

एमालेको अघिल्लो विधान महाधिवेशनले नेतृत्वका लागि ७० वर्षे उमेरहद लगाएको थियो। तर २०८० जेठमा बसेको सचिवालय बैठकले कार्यकारिणी कमिटी सदस्यका लागि लगाइएको उमेरहदलाई निलम्बन गरेको थियो। त्यो निलम्बन अहिलेसम्म फुकुवा भएको छैन। एमालेबाट अलग भएर माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा लागेका मुकुन्द न्यौपाने एमालेमै फिर्ता भएपछि उनका लागि भन्दै ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरिएको थियो।

भण्डारी एमालेको राजनीतिमा आउने बहस चर्कंदै जाँदा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम गर्नुपर्ने र नपर्ने तथा पार्टी अध्यक्षको कार्यकाल सीमा तोक्नुपर्ने (अध्यक्षमा दुई कार्यकाल मात्र) विषयमा पनि बहस हुन थालेको छ। भण्डारीलाई पार्टी अध्यक्ष बनाउने हो भने नेतृत्वका लागि ७० वर्षे उमेरहद लगाउनुपर्छ। यसो भएमा एघारौं महाधिवेशनमा ओली नेतृत्वका लागि उम्मेदवार बन्न पाउने छैनन्।

ओलीले ७० वर्षे उमेरहद ‘फेल’ खाएको अभिव्यक्ति गत जेठ २५ गते दिएपछि एमाले नेतृत्व तहमा उमेरहद र नेतृत्व परिवर्तनको बहसले झन् प्रमुखता पाएको छ। २०७८ असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टी विधानको धारा ८९ मा सबै तहको कार्यकारी कमिटीका पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो। त्यसबेला एमालेले आफ्नो विधानमा ७० वर्ष उमेर पूरा नहुँदै निर्वाचित वा मनोनीत व्यक्तिलाई अर्को महाधिवेशन/अधिवेशन नभएसम्म निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान पनि समेटेको थियो। तर विधानको यो व्यवस्था सचिवालय हुँदै २०८० जेठमा बसेको केन्द्रीय कमिटी बैठकले ‘हाललाई’ भन्ने शब्द राखेर निलम्बन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]