०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

इजरायलमा नेपालीको उद्धारका लागि एनआरएनए सक्रिय, हटलाइन सेवा सञ्चालन गरिदै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आषाढ ०५, २०८२

इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।

बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो।

कार्यक्रममा एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, ‘अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।’ उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे।

त्यसैगरी, एनआरएनए इजरायलका महासचिव अलि मोहम्मद मियाँले पनि इजरायली सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिए। उनका अनुसार हाल गाडी, पसल लगायतका सेवा सुचारु छन् तर युद्धको अनिश्चितताबिच सतर्कता अत्यावश्यक रहेको बताए।

इजरायलस्थित नेपाली राजदूत पण्डितले नेपालीलाई शेल्टरमा बस्न र सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिँदै भने, ‘अहिलेसम्म कसैले तत्काल उद्धारको लागि औपचारिक अनुरोध गरेका छैनन्। तर, विराटनगरका मेयर र एक नेपाली चिकित्सकको लागि आवश्यक प्रक्रियागत काम सुरु गरिएको छ।’ साथै, केही अनडकुमेन्टेड नेपालीले फर्कन चाहेको जानकारी पनि आएको उनले बताए।

राजदूत पण्डितका अनुसार नेपाल फर्किन चाहने नेपालीहरूका लागि परराष्ट्र मन्त्रालयले खुला गरेको फारम भराउन दूतावासले आग्रह गरिरहेको छ, ताकि उद्धार प्रक्रिया सहज बनोस्।

अन्तरक्रियामा सहभागी इजरायलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले अहिले नै नेपाल फर्किने सोच नरहेको जनाएका थिए। कार्यक्रमका क्रममा एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्तलगायत पदाधिकारीहरूले सुरक्षित रहन आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतका अनुसार इजरायलस्थित नेपालीहरूको जानकारी र सहायताका लागि बिहीबारदेखि संघको सचिवालयमार्फत हटलाइन सेवा सञ्चालनको तयारी भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]