क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो।
सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ (Barbers), सुनचाँदी तथा कपडा सम्बन्धी काम, वस्त्र उद्योग (Textile) र पर्यटन क्षेत्र रहेका छन्।
कृषि क्षेत्रमा जलकृषि (Aquaculture Fisheries) र पशुपालन (Livestock) रहेका छन्। यस्तै बगैँचा क्षेत्र र निर्माण क्षेत्र पनि कोटा स्वीकृतिमा परेको उल्लेख छ।
राजदूतावासले मलेसिया सरकारबाट प्राप्त सूचनाका आधारमा कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको र अर्को सूचना नभएसम्मका लागि यस्तै व्यवस्था कायम रहने स्पष्ट पारेको छ।
यस सूचनाले मलेसिया रोजगारी खोजिरहेका नेपाली युवाहरूमा आशा पलाएको छ। अब मलेसिया जान चाहनेहरूले दूतावास तथा वैदेशिक रोजगार कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ।