२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

सहकारी ठगी आरोपमा पूर्व गृह मन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा टोली खटाई उनलाई पक्राउ गरेको हो। लामिछानेलाई शुक्रबार नै कास्की जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गरिएको छ।

सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अनियमितता प्रकरणमा १६ असोज २०८० मा सहकारीका पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढालगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर भएको थियो। पीडितहरूले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध थप जाहेरी दिएका थिए।

ग्यालेक्सी टिभीमा सहकारीको रकम अपचलन गरिएको खुलासापछि लामिछानेसहित अन्य प्रतिवादीविरुद्ध अनुसन्धानको माग गर्दै कास्की प्रहरीमा जाहेरी दर्ता भएको थियो। यसअघि अनुसन्धान नबढेको भए पनि, नेपाली कांग्रेसले निरन्तर सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न माग गरेको थियो।

संसदीय छानबिन र प्रतिवेदन
लामो समयको गतिरोधपछि १५ जेठ २०८१ मा एमाले सांसद सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले ४ असोज २०८१ मा आफ्नो प्रतिवेदन बुझाउँदै सहकारी रकम अपचलनमा रवि लामिछानेलाई दोषी ठहर गरेको थियो।

प्रतिवेदनको आधारमा कास्की प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। तर, लामिछानेको पार्टी रास्वपाले भने उक्त प्रतिवेदनले उनलाई क्लीन चिट दिएको दाबी गरेको थियो।

पक्राउ प्रक्रिया र छानबिन
प्रतिवेदनको कार्यान्वयन क्रममा गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा काठमाडौँबाट पक्राउ गरिएको थियो। उनको परिवारले सर्वोच्च अदालतमा पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दायर गरे पनि अदालतले जोशीको हिरासत कानूनी भएको ठहर गरेको थियो।

जोशीले गोरखा मिडिया नेटवर्क छाडिसकेको भए पनि, सहकारी रकमको अनियमितताका बेला जोशी पनि सञ्चालक रहेकाले प्रहरीले उनलाई थप अभियोगमा पक्राउ गरेको हो।

लामिछाने २०७७ सालमा ‘स्वेट शेयर’का रूपमा १५ प्रतिशत शेयर लिँदै गोरखा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले ‘स्वेट शेयर’ सम्बन्धी कानूनी प्रबन्ध नेपालमा नभएको भन्दै प्रश्न उठाएको छ।

लामिछानेले चुनाव लड्न १ असार २०७० मा गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभी छाडेका थिए। यस प्रकरणका मुख्य आरोपी जिबी राई हाल फरार छन् र उनलाई इन्टरपोलको रेड नोटिसमार्फत खोजी भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]