०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

ममता हराएपछि प्रहरीले नरेश भट्टसँग गरेको सोधपुछको भिडिओ सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन १०, २०८१

काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै २ महिना बितिसक्दा पनि उनले कहाँ गएको र किन बेपत्ता भएकी भन्ने कुरा स्पष्ट हुन सकेको छैन। ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि शंकास्पद गतिविधिहरूको आरोप लगाइएको छ।

सरकारी वकिलहरूले जानकारी दिएका अनुसार, नरेश भट्टले ममताको शवका टुक्राहरू विभिन्न स्थानमा फालेको बताएका छन्। यसैबीच, अधिकारीहरूले ममताको खोजी गर्ने क्रममा नरेशसँगको अन्तरक्रियाको भिडियो सार्वजनिक गरेका छन्। नरेशमाथि ममताको शव लुकाएको आरोप लगाइएको छ, तर अहिलेसम्म प्रहरीले ममताको शव फेला पार्न सकेको छैन।

नरेशका वकिलले आगामी शुक्रवार अदालतमा हुने पेसीमा आफ्नो क्लाइन्टको नाममा जारी पक्राउ पुर्जी र उनलाई पक्राउ गर्ने क्रममा देखाइएको प्रमाणहरू खारेज गर्नुपर्ने तर्क पेस गर्नेवाला छन् । नरेशको नाममा पक्राउ पुर्जी जारी गराउन म्याजिष्ट्रेटलाई मनाउन गलत सूचना प्रयोग गरेको भनेर प्रतिवादीका वरिष्ठ सहायक वकिल शालेभ बेन–अभराहमले भनेका छन् ।

उनले अगस्ट २ मा मनसास पार्कका प्रहरी अधिकारीहरू भट्ट दम्पतीको घरमा आउँदाको क्यामरा भिडियो रेकर्डलाई पनि उद्धृत गरेका छन् । ममता काम गर्ने यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरले उनी काममा नआएको भन्दै चिन्ता गरेपछि अधिकारीहरू उनको घरमा पुगेका थिए ।

नरेशले श्रीमती हराएको भनेर उजुरी दिन नमानेपछि उनलाई समातिएको प्रतिवादी वकिलले अघिल्ला दुई सुनवाइमा तर्क दिएका थिए । १४ मिनेटको सो भिडियोमा अधिकारीहरूले ‘हामी ममता काफ्लेलाई खोजिरहेका छौँ’ भन्छन् ।

यसक्रममा नरेश आफ्ना नाबालिग छोरीलाई बोकिरहेका देखिन्छन् । ‘हो, मङ्गलवार, होइन बुधवार उनी गइन् । आफू न्यूयोर्क वा टेक्सस जान्छु भनेर भनेकी थिइन् । उनीसँग एउटा फोन पनि थियो । तर फोन फुटाइन् अनि गइन्’ नरेशले भनेको सुनिन्छ ।

त्यसपछि अधिकारीहरूले नरेशलाई उनी किन गइन् भनेर सोध्छन् । यसको जवाफमा नरेशले आफूहरू अलग्गिन थालेको अनि आफूले घर बेच्न खोजेकोले निरीक्षकहरू आउन लागेको बताउँछन् । ‘उनी यसरी हराएको यो पहिलो पटक होइन । उनी फर्केर आउँछिन्’ नरेश भन्छन् ।

निरीक्षणका क्रममा अधिकारीहरूले कयौँ पटक श्रीमती आएपछि आफूहरूलाई सम्पर्क गर्न भन्छन् । नरेशलाई समात्ने पक्राउ पुर्जी जारी गराइपाउन पेस गरिएको अन्य प्रमाणमा अगस्ट ५ को फलो–अप टेक्स्ट म्यासेज थियो । यसमा उनले अधिकारीहरूलाई श्रीमती फर्किएर नआएको र उनीसँग सम्पर्क नभएको बताउँछन् ।

त्यसपछि अधिकारीले ‘ठिक छ सर, अपडेटका लागि धन्यवाद, तपाईंले उनलाई खोज्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गरिसक्नुभएको छ र उनी हराएकी हुन् भन्ने लाग्छ भने ९११ मा फोन गर्नुहोस्’ भन्ने जवाफ म्यासेजमा आउँछ ।

ममताले जुलाई २९ मा आफ्नी आमासँग भिडियोमा कुराकानी गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहान नरेशले छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा पुर्‍याइदिन्छन् । केही बेरपछि उनी प्लास्टिक र फोहोर राख्ने कयौँ झोलाका साथमा बेबीसिटरको अपार्टमेन्ट भवन बाहिर क्यामरामा देखिन्छन् । सोही साँझ उनले फोहोर राख्ने कालो ठुलो झोलाको प्याक किनेको बताइएको छ ।

जुलाई ३१ को बिहान १ः३० मा फल्स चर्चमा आफ्नो टेस्ला कारबाट नरेशले फोहोरको झोला झिकेर फोहोर फ्याँक्ने ठाउँमा फ्याकेको भिडियोले देखाएको छ । टेस्लाको रेकर्डले सो समय उनी त्यहाँ भएको देखाए पनि उनको फोन भने इन्याक्टिभ थियो । सायद उनले साथमा फोन लगेका थिएनन् कि ।

नरेशको घरमा बिहान प्रायः तीन देखि चार ग्यालन मात्रै पानी खपत हुने गरेको थियो । तर त्यही दिन बिहान नरेशको घरमा १५० ग्यालन भन्दा धेरै पानी खर्च भएको देखिएको सरकारी वकिलहरूको भनाइ छ । मंगलबारको पूर्वपक्षीय सुनुवाइमा अदालतमा न्यायाधीशको साथमा नरेश भट्ट र उनका वकिल मात्रै थिए ।

सुनवाइपछि नरेशका वकिलले भित्र के भयो अनि गोप्य सुनुवाइका लागि कसले अनुरोध गरेको हो भन्नेबारे केही पनि बताएनन् । सरकारी वकिल, प्रतिवादीका वकिल र नरेश शुक्रवार बिहान पुनः अदालतमा उपस्थित हुँदैछन् । यसमा नरेशका वकिलले उनीविरुद्ध जारी भएको पक्राउ पुर्जी रद्द गर्नुपर्ने तर्कहरू पेस गर्नेछन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बजारमा चर्चा छ कि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २४ घण्टाभित्रै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। अर्थात्, सेवाग्राहीले ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स पाउने भनिएको छ। रास्वपा सरकार गठन भएलगत्तै यस्तो द्रुत सेवा कसरी सम्भव भयो? अघिल्ला सरकारले किन यस्तो गर्न सकेनन्? पहिले ट्रायल पास गरेपछि नवीकरणको समयसम्म पनि लाइसेन्स […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) भित्र पछिल्लो समय संसदीय जिम्मेवारी तथा पद बाँडफाँटप्रति केही सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसपटक निर्वाचित एक सांसदले “सांसद बन्न सफल भएका कतिपयलाई जिम्मेवारीबाट छुटाइएको” भन्दै गुनासो गरेका छन्। संसदीय समितिमा पनि उस्तै असन्तुष्टि गत ३ वैशाख मा बसेको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरूको नाम चयन गरेको थियो। […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]