०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एमसिसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आश्विन ०५, २०८१

तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।

एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै नयाँ बुटवल सबस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीहरुले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँ जिल्लास्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन आग्रह गरेको छ ।

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२) बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । प्रशासन कार्यालयमा मूल्य निर्धारण समितिको गत बुधबार बसेको बैठकले प्रसारण लाइनअन्तर्गत टावरहरु रहने जग्गाको अन्तिम मूल्य निर्धारण गरेको थियो । प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले तनहुँ जिल्लाभित्र निर्माण हुने सबै टावर रहने जग्गाको उचित मूल्य निर्धारण गरेको सहायक प्रजिअ भण्डारीले बताए ।

जिल्लास्थित आबुँखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गत करिब एक सय ९९ वटा टावर निर्माण हुनेछन् । तीमध्ये कतिपय टावर सरकारी जग्गामा पर्ने र कतिपय विवादित जग्गामा पर्ने हुँदा ती टावरलाई छोडेर बाँकी रहेको टावर रहने जग्गाको मूल्य निर्धारण गरिएको सहायक प्रजिअ भण्डारीको भनाइ छ ।

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत रुपमा जग्गाको निरीक्षण गरेको र धेरै पटक छलफल गरिएको जनाएको छ । जग्गाको वर्गीकरणअनुसार मुआब्जा निर्धारण गरिएको भन्दै सहायक प्रजिअ भण्डारीले मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको बताए ।

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने रातमाटे, न्यू दमौली, लेखनाथ र न्यू बुटवल सवस्टेशनमा विद्युत् प्रवाहका लागि विद्युत् प्रसारण आयोजनाअन्तर्गत काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्न लगानी हुनेछ । उक्त प्रसारण लाइनअन्तर्गत तनहुँका पाँच वटा पालिकामा एक सय ९९ वटा टावर रहनेछ ।
एमसिए नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । न्यू दमौली सबस्टेसनले रातामाटे, लेखनाथ र न्यू बुटवल सबस्टेसनसँग विद्युत् प्रवाहका लागि महत्वपूर्ण बिन्दुका रुपमा काम गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]