०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

मोबाइलले तपाईलाई नियन्त्रण गर्दैछ कि तपाईले मोबाइलाई ?

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

काठमाडौं,। तपाईंलाई स्मार्टफोनले नियन्त्रण गरिरहेको छ कि भन्ने लाग्छ ? यो तपाईंको मात्र समस्या होइन । स्मार्टफोनको लत आजका दिनमा भयानक समस्या बनेर देखिएको छ । यसलाई कम गर्न वा यसबाट जोगिन के गर्ने भन्ने विषयमा छलफल गर्न उपयुक्त समय आएको विश्लेषकहरूले औंल्याएका छन् ।

एक छिन मात्र फोन चलाउँछु भनेको मान्छे दिनभर फोनमै बिताएका अनुभव पनि छन् हामीसँग । गेम खेल्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा भिडिओहरू हेर्दै हामी आफ्नो समय बिताइरहेका हुन्छौं । यदि कहिलेकाहीँ मात्रै यसरी फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा त्यति ठूलो समस्या हुँदैन । तर, सधैं त्यसरी नै बित्न थाल्यो भने तपाईंले आफ्नो ख्याल गर्ने समय आएको छ ।

आज हामी स्क्रिन टाइम बढी हुँदा त्यसले स्वास्थ्यमा के असर गर्छ अनि त्यसलाई नियन्त्रण गर्न के गर्ने भन्ने विषयमा चर्चा गर्दैछौं:

स्क्रिन टाइमका सन्दर्भमा विज्ञहरू के भन्छन् ?

अत्यधिक स्मार्टफोन प्रयोग गर्नुले कालान्तरमा तपाईंको मानसिक तथा भौतिक स्वास्थ्यले धेरै नकारात्मक असर पुर्‍याउँछ । यो लेखमा अनुसन्धानकर्ताले कस्तो पक्षमा कस्तो असर देखिन्छ भन्ने चर्चा गरेका छन्, त्यसैलाई प्रकाश पारिएको छ । त्यसैले अध्ययन हुन बाँकी भएका त्यस्ता थुप्रै पक्षहरू छुटेका हुन सक्छन् ।

१) महामारीका रूपमा देखिने ‘नियर साइटेड्नेस’

नियर साइटेड्नेस अर्थात् ‘मायोफिया’ भनेको आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकको वस्तु प्रस्ट देख्न सक्छ । तर, टाढाको वस्तु मधुरो देख्छ । हो, स्मार्टफोन लामो समय प्रयोग गर्दा आँखाको संरचना बदलिन पुग्छ । अर्थात् भौतिक रूपमा ‘आईबल’को आकार लम्बिन्छ । जसले गर्दा जहाँ बाहिरबाट आउने प्रकाश रेटिनाभन्दा अगाडि नै केन्द्रित भइदिन्छ । र, टाढाको वस्तु मधुरो देखिने समस्या आउँछ ।

विज्ञहरूका अनुसार सन् २०५० सम्म ५० प्रतिशत मानिसहरूमा मायोफिया हुनेछ । झन बालबालिकाले धेरै समय स्मार्टफोन प्रयोग गरे भने यो समस्या छिट्टै देखिन्छ । त्यसैले विज्ञहरूले डिजिटल डिभाइस विशेषगरी स्मार्टफोन प्रयोग गर्दा धेरै नजिक नल्याउन सुझाव दिएका छन् ।

एप्पलले आफ्ना प्रयोगकर्तालाई यस्तो समस्याबाट जोगाउन ‘अलर्ट’ सिस्टम ल्याएको छ । जसले गर्दा तपाईंले फोन निकै नजिक ल्याउनु भयो भने त्यसो नगर्न चेतावनी दिन्छ । त्यसैले तपाईंले कम्तीमा पनि फोन आफ्नो अनुहारभन्दा १२ इन्च टाढा राख्नुपर्ने हुन्छ ।

आईफोनमा डिस्टेन्स रिमाइन्डर कसरी राख्ने ?

– सबैभन्दा पहिले सेटिङ एप खोल्नुहोस् ।

– त्यसपछि स्क्रिन टाइममा ट्याप गर्नुहोस् ।

– अनि ‘स्क्रिन डिस्टेन्स’ भन्ने अप्सन छान्नुहोस् ।

– यति गरेपछि ‘स्क्रिन डिस्टेन्स’को अप्सनमा भएको टोगल अन गर्नुहोस् ।

यति गरेपछि तपाईंले फोन आफ्नो अनुहारभन्दा १२ इन्च नजिक ल्याउनु भयो भने आईफोनले वार्निङ दिन्छ । यो सेटिङले बालबालिकामा मायोफिया हुने समस्या कम गर्न सक्ने बताइएको छ ।

२) आँखा सुक्खा हुनु

अत्यधिक स्मार्टफोनको प्रयोगले मायोफियाका साथै आँखा सुक्खा हुने समस्या पनि हुन्छ । हामी स्मार्टफोन, ल्यापटप वा ट्याबलेट हेरिरहँदा आँखा कम झिम्काउँछौं । त्यसैको कारणले हामीमा आँखा सुक्खा हुने समस्या देखिन्छ ।

एक अध्ययनले यसरी आँखा सुक्खा हुने समस्या र अत्यधिक स्मार्टफोनको प्रयोग कसरी एक आपसमा जोडिन्छन् खुलाएको छ । हामीले आँखा झिम्काउनु भनेको विन्डशिल्ड वाइपरले आँखा सफा गर्नु र त्यसलाई औसिलो (सुक्खा नभएको) बनाइराख्नु हो । त्यस्तै जति आँखा झिम्काइयो शरीरले त्यति नै आँसु उत्पादन गर्छ । जसले गर्दा आँखा सुक्खा हुन पाउँदैन । र, स्वास्थ्य हुन्छ । त्यसैले आँखा बढी झिम्काउँदा त्यसले आँखालाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

बालबालिकाको सन्दर्भमा आँखा स्वास्थ्य नभए त्यससम्बन्धी रोग लाग्छ । र, दृष्टिमा समेत समस्या आउँछ । त्यस्तै आँखा सुक्खा हुने समस्या पनि देखिन्छ ।

मानसिक स्वास्थ्यमा स्मार्टफोनले पार्ने नकारात्मक प्रभाव

स्मार्टफोनको ब्यापक प्रयोग हुन थालेको धेरै समय भएको छैन । तर, त्यसले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने प्रभाव भने सतहमा आउन थालेको छ ।

यस विषयमा अध्ययन तथा अनुसन्धान अझै प्रारम्भिक चरणमा छ । सीमित अध्ययनले पनि स्मार्टफोनको अत्यधिक प्रयोगले पार्ने समस्या सतहमा ल्याएको छ । डिप्रेसनको समस्या, एन्जाइटी हुनु र आत्महत्यासम्मको विचार आउनु पनि कुनै न कुनै रूपमा अत्यधिक स्मार्टफोन प्रयोगसँग जोडिएको विश्लेषकहरुको तर्क छ ।

कोलम्बिया विश्वविद्यालयको मनोचिकित्सा विभागले उल्लेख गरे अनुसार निरन्तर सूचना र अपडेटको प्रवाहले एन्जाइटी (चिन्ता)को अनुभूति गराउन सक्छ । यसलाई युवा प्रयोगकर्ताहरूमा एफओएमओ (FOMO) अर्थात फिअर अफ मिसिङ आउट (केही कुराबाट चुक्ने डर) भनिन्छ । यसले गर्दा उनीहरूले सामाजिक सञ्जाल वा टाइमलाइनमा देखेका सांस्कृतिक र सामाजिक क्षणहरूमा सहभागी भएन भने आफू छुट्ने होकि भन्ने डर हुन्छ ।

तर यो केवल चुक्ने डर मात्र होइन । यो एक्लोपन र अपर्याप्तताको बढ्दो अनुभूति पनि हो । सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्राम र टिकटकमा देखिने देखावटी पन, मानिसहरूको रमाइलो जिन्दगी, सफलता, खुसी अनुसार, आकर्षक लुगाकपडाहरू आदिले पनि युवालाई आफू शून्य भएको महसुस गर्छ ।

यसले गर्दा उनीहरूलाई आफूले केही गर्न नसकेको भान हुन्छ र चिन्ता बढ्दै जाँदा त्यो एन्जाइटी र डिप्रेसनमा परिणत हुन्छ । त्यसैले सामाजिक सञ्जालमा देखिने जीवनयापन अन्य किसिमका देखावटीपन क्षणिक र देखाउनका लागि मात्रै गरिएका चिज हुन् भन्ने बुझ्नुपर्छ । उनीहरू वास्तविक जीवनमा पनि तपाईं हामी जस्तै हुन्छन् ।

स्मार्टफोनको लत

स्मार्टफोन आफैमा नराम्रो कुरा होइन । स्मार्टफोन त प्रविधिको देन हो । हाम्रा पुस्ताले पाँच दशक अघिसम्म कल्पनै गर्न नसकेका कुराहरू आज स्मार्टफोनका रूपमा हाम्रै दैनिक जीवनमा देखिएका छन् । स्मार्टफोनकै कारण हामी आफन्त तथा साथीभाइसँग वास्तविक समयमा जोडिन पाएका छौं । स्मार्टफोन भएर र हामी आफूलाई विशेष लाग्ने पलहरू जतिबेलै कैद गर्न सक्छौं । कतिपय अवस्थामा स्मार्टफोनकै कारण खतरनाक अवस्थाबाट जोगिएका समाचार पनि आइरहेका हुन्छन् ।

तर, स्मार्टफोनमा जसरी विभिन्न प्लेटफर्मको विकास भयो त्यसले कथालाई नै फरक मोड दिएको छ । विभिन्न गेम र सामाजिक सञ्जाल मानिसलाई लत लगाउने किसिमले नै डिजाइन गरिएका हुन्छन् । यसरी डिजाइन गर्न ती कम्पनीलाई अर्बौंको खर्च लागेको हुन्छ । तपाईं जति बढी सामाजिक सञ्जालका माध्यममा सक्रिय हुनुभयो वा अन्तरक्रिया गर्नुभयो त्यति नै बढी ती कम्पनीलाई फाइदा हुन्छ ।

मोबाइल गेमिङ पनि स्मार्टफोनको लत लगाउने अर्को तत्व हो । विभिन्न किसिमका अनलाइन गेमले भौतिक खेलहरूभन्दा भर्चुअल खेल बढी प्रभावशाली हुने भान पारेका हुन्छन् । कतिपय अनलाइन गेममा क्यारेक्टर र अन्य किसिमका सामग्री वास्तविक पैसा खर्च गरेर खरिद गर्नुपर्ने हुन्छ । त्यसले पनि अनलाइन खेललाई वास्तविक जस्तो बनाएको हुन्छ ।

त्यस्तो बेला प्रयोगकर्तालाई आफ्नो रकम वास्तवमै खर्च भइरहेको छ भन्ने महसुस हुँदैन । जसले गर्दा उनीहरू आफ्नो क्षमताले सकिनेभन्दा बढी खर्च गर्छन् ।

२५ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई यस्ता अनलाइन गेमले बढी लतमा पार्ने बताइएको छ । किनभने मस्तिष्क तीव्र गतिमा विकास भइरहेको अवस्थामा प्रभावित पार्ने बाह्य तत्त्व धेरै हुन्छन् । त्यसले गर्दा यो उमेरमा स्मार्टफोनको लत बढी देखिन्छ ।

विज्ञहरूको अनुसार स्मार्टफोनको लत लाग्दा अटिजम, न्युरल डेभलपमेन्ट डिसअडर र डिप्रेसिभ डिसअडर जस्ता डिसअडर देखिन्छन् ।

स्क्रिन टाइमममा सीमितता

स्मार्टफोनको लतले गर्दा के कस्ता समस्या देखिन्छन् भन्ने प्रस्ट भइसकेपछि अब त्यसलाई कसरी कम गर्ने भन्ने विषयमा चर्चा गरौं । अब तपाईंले स्मार्टफोनको प्रयोगलाई सीमित गर्नुपर्छ । यसको अर्थ आफ्नो फोन वा कम्प्युटर नजिकको कुवामा फालिदिनुस् भन्न खोजिएको पनि होइन । तपाईंले आफूले बढी प्रयोग गर्ने सामाजिक सञ्जालका अकाउन्ट डिलिट गर्नपर्छ पनि भनिएको छैन ।

समयसँगै आफूलाई अभ्यस्त राख्न तपाईंले स्मार्टफोन र कम्प्युटर प्रयोग गर्नुपर्छ । तर, धेरै होइन । आफूलाई बढी प्रयोग गरेको महसुस भए केही समयका लागि ब्रेक लिनुहोस् । यस्तो बानीलाई निरन्तरता दिंदै जानुभयो भने तपाईंको अनावश्यक रूपमा स्मार्टफोन प्रयोग गर्ने बानी कम गुँदै जान्छ । त्यसैले स्क्रिन टाइम र त्यसलाई चटक्कै छोडेर लिइने ब्रेकलाई सन्तुलन राख्नुहोस् ।

तपाईं अहिले जसरी स्मार्टफोन प्रयोग गर्नुहुन्छ त्यसबाट सचेत हुनुहोस् । अहिले बजारमा आएका अधिकांश स्मार्टफोनमा तपाईंले कुन एप कति प्रयोग गर्नुभयो भन्ने देखाइएको हुन्छ । त्यसका लागि सेटिङमा गएर ‘स्क्रिन टाइम’ (Screen Time) वा डिजिटल वेलबिङ (Digital Wellbeing) सर्च गर्नुपर्ने हुन्छ । त्यसमा तपाईंले कुन कुन समयमा कुन एप कति प्रयोग गर्नुभयो भन्ने प्रस्ट देखाइएको हुन्छ ।

काम परेको समय बाहेक तपाईंले दिनमा दुई घण्टा मात्र गेम खेल्ने, सामाजिक सञ्जाल प्रयोग गर्ने, भिडिओ हेर्ने वा टिभी हेर्ने गर्नुभयो भने पनि त्यसले तपाईंको स्वास्थ्यलाई कम असर गर्छ ।

यो प्रक्रिया निरन्तर अपनाउँदै जाने हो भने स्क्रिनमा अनावश्यक रूपमा बढी समय बिताउने तपाईंको बानी कम हुँदै जान्छ । त्यस्तै पछि म अब यो भन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्दैन भनेर आफैलाई विश्वस्त बनाउन सक्नुहुन्छ । अहिलेका अधिकांश फोनमा ब्रेक रिमाइन्डर, एप लिमिट जस्ता सुविधा रहेका हुन्छन् ।

आईफोनमा भने तपाईंले कुन-कुन एप बढी प्रयोग गर्नुहुन्छ र त्यसलाई छानेर ‘लिमिट एप’को क्याटेगरीमा राख्ने सुविधा दिइएको छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले सेटिङ एप खोल्नुहोस् ।

-त्यसपछि ‘स्क्रिन टाइम’मा ट्याप गर्नुहोस् ।

-अनि एप लिमिटको अप्सनमा जानुहोस् ।

-र, आफूले कुन क्याटेगरीको एपलाई लिमिट गर्न खोज्नु भएको हो त्यो छान्नुहोस् ।

टाइम लिमिट राख्दा सबैभन्दा पहिले १०-१५ प्रतिशत मात्रै घटाउनुहोस् । त्यसपछिका दिनमा बढी घटाउन सक्नुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]