२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गर्नेछाैं : प्रधानमन्त्री ओली

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन ०२, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पार्नुभएको हो ।

महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति रहेको थियो ।

भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताउनुभएको थियो ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिँदै आर्थिक वर्षको सुरुमा नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताउनुभयो ।

त्यसअवसरमा सो प्रतिनिधिमण्डलले उद्यम व्यवसाय सम्बद्ध नियामक निकायले एकआपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्नेगरी कार्य सम्पादन गर्नु आवश्यक रहेको तथा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको जानकारी प्रधानमन्त्रीसमक्ष गराएको थियो ।

हाल अर्थतन्त्र सम्बद्ध निकायबीचमा समन्वयको अभाव रहेको बताउनुहुँदै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको सो प्रतिनिधिमण्डलले जनाएको थियो ।

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रकलाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्नसक्ने वातावरण निर्माण गर्न, सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तिय पहुँचका लागि विशेष पहल गर्न पनि सो प्रतिनिधिमण्डलले माग गरेको थियो ।

अध्यक्ष ढकालको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलमा महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छासहित वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहनुभएको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]