२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रधानमन्त्री प्रचण्डले गरे २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख १६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रसारण लाइन र सबस्टेसन निर्माणमा नेपालले अर्को महत्वपूर्ण फड्को मारेको बताएका छन्।

आइतबार मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्र जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्ने आयोजनाहरूको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताएका हुन्।

यी आयोजना निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत माग हुने काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सहज हुने उनले बताए।

‘उपत्यकाको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित मात्रै भएको छैन। देशको एकीकृत विद्युत प्रणाली थप सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।

मर्स्याङ्दी र त्रिशुली जलाधार क्षेत्रमा जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि मातातीर्थ सबभन्दा ठूलो हब बनेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको यहाँहरू सबैलाई अवगत नै छ। लोडसेडिङ अन्त्यसँगै नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि देशको समग्र अर्थतन्त्रमा ज्यादै ठूलो सकारात्मक परिवर्तन हुन थालेको छ,’ उनले थपे।

विद्युत आपूर्ति सहज भएसँगै उद्योगहरूको उत्पादन क्षमता बढ्दै गएको उनले दाबी गरे।

‘वर्षा याममा ६ महिना छिमेकी मुलुक भारततफ विद्युत निर्यात सुरू गरिएको छ। अझै पनि केही वर्ष हिउँद याममा देखिने आन्तरिक विद्युत उत्पादन र मागबीचको आपूर्ति असन्तुलनको खाडल पूरा गर्न विद्युत आयात गर्नु परे पनि यस वर्षबाट विद्युतको खुद निर्यातकर्ता बन्ने अवस्था तयार भएको छ,’ उनले भने।

नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र जलविद्युत क्षेत्र रहेको दाबी गर्दै प्रचण्डले यो क्षेत्रको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गइरहेको जिकिर गरे।

‘आजैबाट सुरू भएको लगानी सम्मेलनमा भएको विदेशी लगानीकर्ताहरूको सहभागिताले समेत यो तथ्यलाई पुष्टि गरेको छ,’ उनले भने।

सरकारले देशभित्र विद्युत खपत बढाउन र विद्युतको उपक्षेत्रीय तथा क्षेत्रीय बजार विस्तारका लागि पूर्वपश्चिम र उत्तर दक्षिण जोड्ने गरी उच्च क्षमताका प्रसारण लाइन निर्माण योजनाबद्ध रूपमा अगाडि बढाइरहेको पनि उनले जानकारी दिए।

‘अहिले देशका डाँडाकाँडामा प्रसारण लाइन र नदी तथा खोलानालामा जलविद्युत आयोजनाहरूको निर्माण उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। यस्ता आयोजनाहरूको निर्माणले एकातर्फ राष्ट्रिय आत्मनिर्भरता बढाइरहेका छन् भने अर्कोतर्फ देश विकासको मूल स्रोत जलस्रोत नै हो भन्ने मान्यतालाई पनि विस्थापित गराउँदै लगेको छ,’ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]