२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

उत्कृष्ट युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न नपाउने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न पाउने छैनन् ।

राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशबाट खेल्ने २४ वर्षीय रवि दुई सातापछि जापान जाँदैछन् ।

काठमाडौंमा जारी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ उनको टिम गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ ।

गण्डकीले जितेको तीनै खेलमा कप्तान रवि नै प्लेयर अफ द म्याच चुनिएका थिए । नेपालमा उनको यो अन्तिम प्रतियोगिता हो । कलिलो उमेर, ६ फिट २ इन्च उचाइ र शक्तिशाली स्पाइक रविका विशेषता हुन् ।

‘विदेशबाट भलिबलको अफर आइराख्दा खेलकै लागि विदेश जाँदैछु । नेपालको अवस्था यस्तै हो । खेलाडीलाई जीवनयापन गर्न गाह्रो नै छ’, रविले विदेश जानुपर्नाको कारणबारे भने ।

चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) र कीर्गिस्तानमा भएको काभा पुरुष भलिबल नेसन्स लिगका लागि रवि राष्ट्रिय टिममा परेनन् ।

बन्द प्रशिक्षणमा परेका रवि अन्तिम १८ बाट बाहिरिएपछि भलिबल संघ र छनोटकर्ताले समर्थकको आलोचना खेप्नुपरेको थियो ।

‘गतवर्ष नेशनल टोलीको क्लोज क्याम्पमा परेँ तर टोलीमा परिन । त्यसपछि मलाई डिमोरलाइज (मनोबल घट्ने) भयो । मेरो स्तरका खेलाडीहरु टोलीमा पर्नुभयो । विभागमा बेन्चमा बस्नेहरु पनि पर्नुभयो । हामी नपर्दा नेपालमा हाम्रो स्थान छैन जस्तो लाग्यो’, रविले भने ।

सन् २०२१ मा छैटौं एनभीए कपमा गल्कोटबाट खेल्दै उनले राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका थिए । सन् २०२१ को टाइगर कपमा गण्डकीले आर्मीलाई हराएर उपाधि जितेको खेल उनले टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेरेका थिए ।

सन् २०२२ को टाइगर कपदेखि भने रविले गण्डकीबाट खेल्न थाले । तेस्रो संस्करण २०२३ मा गण्डकीलाई उपाधि जिताउन उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

६ महिनाअघि वीरजङ स्मृति र लामाचौर कप भलिबलमा गण्डकीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका रवि सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

कृषि विज्ञानमा प्लस टु सकेर स्नातक अध्ययन गरिरहेका रवि जेठ, असार र साउनबाहेक अरु समय भलिबलमा ब्यस्त हुन्छन् । एक वर्षमा उनले गण्डकीबाट राष्ट्रिय र स्थानीय गरी ३५/४० वटा प्रतियोगिता खेल्छन् ।

समर्थकको हिसाबमा गण्डकी प्रदेश नेपाली भलिबलमा सर्वाधिक लोकप्रिय मानिन्छ । विदेशबाट समर्थकले पठाएको सहयोग रकमबाटै गण्डकीले प्रतियोगिता खेलिरहेको छ, तर यसबाट मात्र खेलाडीको जीविका चल्न सकेको छैन । तर सधैं यसरी त चल्दैन । तर खेलाडी घाइते भएमा पुरै करिअर नै सकिने सम्भावना हुन्छ ।

‘हामीले भलिबल खेलेर पाउने भनेको नै नाम र सम्मान हो । पूर्वदेखि पश्चिमसम्म जहाँ जाँदा पनि गण्डकी प्रदेशको राम्रो केज पाएँ । नाम पाउनु नै खेलाडीको ठूलो सफलता हो’, उनले भने ।

बाग्लुङको गलकोट नगरपालिका–७ मल्ममा २०५७ सालमा जन्मिएका रवि स्कुल समयबाहेक विहान र बेलुका भलिबल नै खेल्थे ।

सानोमा टालोको बलबाट भलिबल खेलेका उनले स्पाइकर भएरै खेल्थे । सानोमा उचाइ कम भएका बेला सेटरको रुपमा पनि खेलेका थिए । तर गण्डकीबाट उनी स्पाइकरकै रुपमा खेल्दै आएका छन् ।

काठमाडौं बाहिर आउटडोरमा हुने खेलमा गण्डकी उत्कृष्ट टिम मानिन्छ । गण्डकीले बुधबार आठौं एनभीएको क्वार्टरफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हरायो ।

गण्डकीले यसअघि पनि राष्ट्रिस्तरका प्रतियोगिताहरुमा विभागीय टिमलाई हराउँदै आएको छ । गण्डकीले लगातार राम्रो प्रदर्शन गरेपनि यहाँका खेलाडी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । विभागीय टिमको बेन्चमा बस्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्ने तर गण्डकीबाट उत्कृष्ट प्रदर्शन गर्नेहरु नपर्ने अवस्थाले खेलाडीको मनोबल घट्ने रवि बताउँछन् ।

‘गण्डकीले पनि नतिजा दिइराखेको छ । सबै विभागीय टिमलाई हराइराखेको हो । तर एकजना खेलाडी पनि पर्दैनन्, क्षमता नभएर चाहिँ होइन जस्तो लाग्छ । तर प्लेयर पर्न के चाहिन्छ मलाई थाहा भएन’, उनले भने ।

गण्डकी भलिबल टिमका मुख्य प्रशिक्षक रमेश केसी रवि राष्ट्रिय टोलीमा पर्नुपर्ने खेलाडी भएको बताउँछन् । ‘रवि क्षमतावान हुँदाहुँदै राष्ट्रिय टोलीमा नपारिएको हो । ऊ गण्डकीको राम्रो खेलाडी हो’, उनले भने, ‘उसको भविष्य हामीले बिगार्ने कुरा भएन । हामीले उसको रोजीरोटी दिन नसक्ने भएपछि बाध्यताले (विदेश जान) दिनुपर्छ ।’

रविले गतवर्ष पुसमा बंगलादेशमा सम्पन्न काभा यू–२३ भलिबल नेपालबाट खेलेका थिए । त्यही नै उनले नेपालका लागि खेलेको एकमात्र खेल हो ।

‘कतिपय ठाउँमा मेरो आफ्नै समस्या होला । तर दर्शकहरुले मूल्याङ्कन गर्नुहुन्छ । म नपर्दा धेरैले आवाज उठाउनुभयो’, उनले भने, ‘…भलिबलबाट नै माथि आउन नसकेपछि म छिट्टै हराउछु होला भनेर पहिला नै भनेको थिएँ ।’
आफ्नै भविष्य सम्झेर र घरपरिवारको दबाबले आफू विदेश जान लागेको उनी बताउँछन् ।

‘५/६ वर्ष नेपालबाट मिहिनेत गरेर खेल्छु भनेर चाहँदा चाहँदै पनि घर परिवारले भलिबलमा रहन दिनुभएन, एक पटक नेपालबाट खेल्ने एकदम ठूलो सपना हो । त्यो चाहिँ पूरा हुन सकेन’, उनले भने ।

आफू नपरे पनि आगामी दिनका छनोटमा युवा प्रतिभालाई महत्व दिन उनले भलिबल संघलाई आग्रह गरेका छन् ।
रविले जापान जाने घोषणा गरिसकेका छन् । तर भलिबल संघका पदाधिकारी र खेलाडी छनोटकर्ताहरुले उनलाई स्वदेशमै बस्न आश्वासन दिन सकेका छैनन् ।

‘म राष्ट्रिय टोलीको सदस्य भएको भए त्यो चासो पनि हुन्थ्यो होला । सरकारी क्लबको सदस्य पनि होइन । गण्डकी प्रदेशको खेलाडी म । आफ्नो इच्छा अनुसार जाँदै छुु’, उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]