०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

रञ्जना युनिकोड नेपाली फन्ट सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र ०३, २०८०

काठमाडौं : रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल भएको थियो । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड फन्ट” विकास गरिएको फन्ट डेभलपर एवं क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनले बताए ।

“समग्र नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, विश्वव्यापिकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको छ,” उनले भने, “यसै कारण ऐतिहासिक कालखण्डदेखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान बोकेको रञ्जना लिपिसमेत ओझेलमा पर्दै गएको छ ।”

यो अत्यन्तै संवेदनशील विषयलाई मध्यनजर गर्दै क्यालिजात्रा फाउण्डेसनले विगतका केही समयदेखि डिजिटल संस्करणमा यो फन्ट ल्याएको बताए ।

आजको आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गरिएको उनले सुनाए ।

यो फन्ट क्यालिजात्रा फाउण्डेसन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपका मुख्य फन्ट डेभलपर तथागत विश्वास, शारङ्ग कुलकर्णी, नूपुर दात्ये र आनन्द कुमार महर्जनको टोलीले विकास गरेको हो ।

रञ्जना लिपि विशेषज्ञ समेत रहेका आनन्दकुमार महर्जनले नियमित सल्लाह सुझाव, मार्गनिर्देशन, समीक्षा तथा आवश्यक स्रोत साधनहरू प्रदान गर्दै आएका थिए । यो रञ्जना युनिकोड फन्ट विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ । र, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध भएको छ । यो फन्ट प्रिन्टिङ र वेबका लागि प्रयोग गर्न सकिनेछ ।

आयोजकका अनुसार यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको छ । त्यसैले रञ्जना लिपिलाई प्रर्वद्धन गर्न र सही रूपमा प्रयोग बढाउन सकिने आयोजकको विश्वास छ । सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने आयोजक टोलीको भनाइ छ ।

कार्यक्रममा नित्या रञ्जना लिपि समावेश भएको नेवा लिपि एपको अपडेटेड भर्सन पनि सार्वजनिक गरिएको छ । प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि देवनागरी किबोर्ड लेखेको बक्समा युनिकोड देवनागरी टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि तल रञ्जना लिपिको शब्द देखिन्छ । उक्त शब्दलाई फोटोका रूपमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

त्यस्तै यहाँ क्लिक गरी गिटहबको पेजमा गएर पनि यो फन्ट डाउनलोड गर्न सकिन्छ । यो फन्ट फोटोशप, प्रिमियर प्रो, वर्ड जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]