२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

राष्ट्रपति द्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मै फिर्ता

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, साउन १०, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मै फिर्ता गरेका छन्।

विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले बिहीबार उक्त विधेयक प्रतिनिधिसभार्म फिर्ता पठाइदिएका हुन्।

विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामै फिर्ता गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

दुवै सदनबाट पारित भएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गएको असार ३१ गते राष्ट्रपति पौडेलसमक्ष पेश गरिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा आधार देखाएर विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामै फिर्ता पठाएका हुन्।

यी हुन् विधेयक फिर्ता पठाउँदा राष्ट्रपति पौडेलले लिएका पाँच आधार

१.नेपालको संविधानको धारा २८४ मा यस संविधानबमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने गरी एक संवैधानिक परिषद् रहने व्यवस्था रहेको छ। संविधानको उक्त धाराको उपधारा (४) मा संवैधानिक परिषद्‍को अन्य काम, कर्तव्य र अधिकार तथा प्रधान न्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भनी उल्लेख भएको विषयलाई आधार लिएर मौजुदा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ लाई संशोधन गर्न यो विधेयक तयार भएको देखिन्‍छ। नेपालको संविधानको धारा १२९(२) बमोजिम प्रधान न्ययाधीशको नियुक्तिका लागि सिफारिस गर्दा तथा धारा २८३ वमोजिमका संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति सिफारिस गर्दा संवैधानिक अपेक्षाअनुरुप समावेशी, सहभागितामूलक र गुणस्तरीय प्रतिनिधित्वको संवैधानिक सिद्वान्तलाई आत्मसात गर्न तथा सिफारिसको क्रममा हुन सक्ने स्वेच्‍छाचारिता नियन्त्रण गर्न, सुशासन एवं कानूनी शासन कायम गर्न एवं राज्य सञ्‍चालनमा शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई संस्थागत गर्ने उद्देश्यका साथ संविधानले परिकल्पना गरेको संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको लागि नियुक्तिको सिफारिस गरी संविधानको कार्यान्वयन गर्ने अहम् भूमिका संवैधानिक परिषद्‍मा रहेको विषयमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन।

२.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को व्यवस्था र अहिले प्रस्तुत संशोधन विधेयकलाई तुलनात्मक रुपमा अध्ययन गर्दा प्रथम दृष्टि मै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको तथा यस्तो अभ्यासले संवैधानिकतालाई सिमित र संकुचित बनाउँछ कि भन्ने मेरो आशंका छ।

३.संवैधानिक परिषद्ले गर्ने निर्णयमा जो कोहिको चासो र सरोकार स्वभावैले रहने हुँदा यसप्रतिको जनविश्वास बलियो नै हुनुपर्दछ। संविधानको धारा २८४ (१) मा उल्लिखित संवैधानिक परिषद्को अध्यक्ष र अन्य सदस्यहरुलाई स्थायी रुपमा नै राखेको देखिन्छ। तर बहाल रहेका सदस्यहरू पनि कुनै अमुक वेलामा वहाल रहँदैनन् वा अनुपस्थित हुन सक्छन् भनी कल्पनातीत अवस्थालाई लक्षित गरी कानून बनाउँदा त्यसले गम्भिर र जटिल परिस्थितिको सृजना नगरोस् भन्नेतर्फ पनि मेरो ध्यान आकृष्ट भएको छ।

४.संवैधानिक परिषद्‍मा उल्लेखित कुल संख्याको सर्वसम्मतिबाटै सिफारिस र निर्णय हुनुपर्दछ। कथम्कदाचित सर्वसम्मति हुन नसकेमा कुनैपनि तरहले कुल संख्याको बहुमत ओझेलमा पर्नु हुँदैन र बहुमतको आधार नै निर्णयको अन्तिम आधार स्तम्भ मानिनु पर्दछ। ऐनको दफा ६ को व्यवस्थालाई कुनै युक्तियुक्त आधार र कारण बिना कुनै विशेष परिस्थितितर्फ इंगित गरी प्रस्तुत संशोधन विधेयकमा कम्तीमा अध्यक्ष र बहाल रहेका सदस्यहरूको पचास प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्य मात्र सम्मिलित भएर परिषद्को तर्फबाट गर्ने निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत भन्ने बुझिने भएकोले त्यस्तो व्यवस्था रहेको विधेयकको पुनर्विचार हुनु आवश्यक छ भन्ने मेरो धारणा रहेको छ।

५.शासकीय सुविधालाई र व्यवहारिक आवश्यकतालाई वढी प्राथमिकतामा राखि संवैधानिक र कानूनी शासन व्यवस्थालाई प्रतिस्थापन गर्ने मनसाय देखिने गरि संविधान र कानूनका व्यवस्थालाई अनादर गरियो भने प्रकारान्तरमा यसले स्वेच्छाचारितालाई प्रशय दिन जान्छ भन्‍ने विषयलाई समेत सम्मानित संसदले विचार गर्नु पर्ने देखिन्‍छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) मलेसिया यसअघि विद्यमान दुई संरचनाबीचको विभाजन अन्त्य गर्दै औपचारिक रूपमा एकीकृत भएको घोषणा गरिएको छ। यस एकतासँगै संगठनभित्र लामो समयदेखि कायम रहेको संस्थागत अस्थिरता समाप्त भई साझा उद्देश्य, अनुशासन र सहकार्यमा आधारित संरचना पुनःस्थापित भएको बताइएको छ। एकीकृत NRNA मलेसिया अब अध्यक्ष इन्द्र नारायण लिम्बुको नेतृत्वमा […]

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]