०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

रहिनन् मायाकुमारीकी ‘मैचा’ पनि

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ २४, २०८२

तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन। हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ’ मायाकुमारीको मृत्युपछि झन्डै ५ महिनाअघि स्नेहाज केयरकी स्नेहा श्रेष्ठले लेखेको भावुक पोस्ट हो यो।

‘दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ, यदि मिल्थ्यो भने तिम्रो लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक फर्केर आईदेउन प्रिय मैचा, तिमीलाई अँगालो हालेर रुनेछु’ तिनै स्नेहाको शुक्रबारको भावुक पोस्ट हो यो।

यो कुनै मान्छेको कथा होइन। तर भैँसी र पाडीको यो कथाले धेरै मान्छेको मन भक्कानिन्छ। पेटमा रहेको गर्भ जोगाउन वधशालाको घनको चोट सहेर बाचेकी मायाकुमारी नाम गरेको भैँसी र टुहुरो जीवन बाचेकी मैचाको दर्दनाक कथा हो यो।

मायाकुमारी र मैचाको कथा यसरी सुरु हुन्छ

वधशालामा प्रहार गरिएको घनको तोडको प्रतिकार नगरेको भए सम्भवतः ऊ दुई वर्ष अगाडि नै मासुको कुनै परिकार बनिसक्थी। दूध कम दिएपछि मासुको लागि भनेरै बिक्री गरिएको उक्त भैँसी जीवन जोगाउन मूल सडकै भागेको थिइ।

भाग्दा–भाग्दै एउटा विद्यालयभित्र पसेर लुकेको उक्त भैँसीलाई पुन: मार्ने प्रयास समेत गरियो। धन्न त्यति बेला पशु अधिकारकर्मीहरूले भैँसीलाई मार्न होइन बचाउन जरुरी भएको भन्दै सेल्टरमा लिएर गए। त्यसरी त्यति बेला भैँसीको जीवन जोगियो।

‘त्यो बेला भैँसीको हालत एकदमै दर्दनाक थियो। उसको टाउकोमा घनको डोब थियो। सिङ भाँचिएको थियो, आँखाबाट रगत चुहिएको थियो,’ स्नेहाज केयरकी स्नेहाले सुनाएकी थिइन्, ‘त्यो अमानवीय कर्म देखेर हामी सबैको मन निकै रोएको थियो।’

उनको मन त्यति बेला झन् धेरै रोयो, जब उनलाई थाहा भयो भैँसीको पेटमा दुई महिनाको गर्भ रहेछ भन्ने। ‘त्यसपछि त्यो भैँसीप्रति हेर्ने हाम्रो माया झनै घनिभूत भयो,’ पेटमा रहेको गर्भ जोगाउन उसले गरेको सङ्घर्षप्रति गर्व बोध भयो।’

स्नेहा केयर्समा राखेर उसलाई स्याहारसुसार गरेपछि वैशाखतिर पाडीलाई जन्म दिएको स्नेहाले सुनाइन्। ‘हामी यहाँ भएका सबै पशुलाई मानिसजस्तै सम्मान दिन्छौँ,’ उनले भनिन्, ‘त्यही भएर पाडीलाई मायाले मैचा भनेर नामकरण गरियो।’

उपचारपछि भैँसी केही निको भए पनि कमजोर भएको उनले सुनाइन्। तर मैचालाई पुग्ने दूध भने भैँसीले दिने गरेको थियो। ‘दुई थुनबाट दूध आउँदैनथ्यो,’ उनले भनिन्, ‘बाँकी दुई थुनको दूध मैचाले पेटभरि खान्थिन्।’

आश्रयमा आएपछि मायाकुमारी नाम पाएकी उक्त भैँसी त्यहाँ भएका अन्य गाईभैँसी लगायतका जनावरसँग मिलेर बस्ने गरेको उनले सुनाइन्।

आफूले जतिसुकै स्याहार गरे पनि त्यति बेला प्रहार गरेको घाउ बल्झेर मायाकुमारी बिरामी पर्दै गएको स्नेहाले बताइन्। ‘७ दिन जति त उठ्न पनि सकेन,’ उनले भनिन्, ‘अन्ततः मायाकुमारीको मृत्यु भयो।’

ऊ मरे पनि उसले मैचाको लागि आफूलाई बचाएको कुराले सबैको मन छोएको श्रेष्ठले सुनाइन्। ‘हामीलाई यस्तो लाग्यो ऊ मैचाकै लागि बाँचेकी रहिछे,’ स्नेहाले भनिन्, ‘मैचाले दाना र घाँस खान थालेपछि मायाकुमारीको मृत्यु भएको छ।’

मायाकुमारीको सबै जनावरप्रतिको स्नेहले सम्मानजनक अन्त्येष्टि गरिएको थियो। उसको अन्त्येष्टि अन्य जनावरले पनि देखुन् भन्ने चाहना रहेको स्नेहाले सुनाइन्। ‘मायाकुमारी मरेपछि पनि मैचाले दूध खान खोजेको दृश्यले भने हामीलाई निकै भावुक बनायो,’ उनले भनिन्, ‘मायाकुमारीलाई खाल्डोमा पुर्दै गरेको दृश्य मैचाले रुँदै नियाली रहेकी थिइन्।

मायाकुमारीको मृत्युपछि स्नेहाले सामाजिक सञ्जालमा गरेको भावुक पोस्ट गर्दे लेखेकी थिइन्, ‘अलबिदा! प्रिय मायाकुमारी, तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन। आज हामी सबैको गला अवरुद्ध भइरहेको छ। तिम्रो वियोगले हाम्रो घर उजाड बनेको छ। गहभरि आँसु लिएर तिमीलाई श्रद्धाञ्जली अर्पण गर्दछौँ।’

मायाकुमारीको त्यो चिनो पनि रहेन। घास चर्न जाने क्रममा खोला किनारमा फालिएका खानेकुरासँगै प्लास्टिक र फलामका टुक्राहरू खाएपछि मैचाको पेटमा समस्या देखियो। तुरुन्तै सर्जरी गरेर ती वस्तुहरूलाई निकाले पनि मैचालाई बचाउन नसकिएको स्नेहाले बताइन्।

मैचाको जन्मदिन धूमधामले मनाउने स्नेहाको तयारी दु:खमा टुँगिएको छ। मैचाको मृत्युमा पनि स्नेहा रोइन् र भावुक पोस्ट लेखिन्।

स्नेहाले लेखेको पोस्ट यस्तो छ:

प्रिय मैचा,

तिम्री आमालाई मृत्युको मुखबाट खोसेर ल्याएथेँ अनि तिमीलाई पाएर मेरो खुसी दोब्बर भएथ्यो।

हिजो जस्तो लाग्छ तिमी जन्मिदा मैले उत्सव मनाएको,

अनि आज तिम्रो वियोगमा छाति पोलिरहेछ,

म कसरी पत्याऊँ यो खबर,

कसरी तिम्रो वियोगमा शोक मनाउँ?

शायद हाम्रो मिलन यत्ति नै थियो होला, भावीको लेखन्त यस्तै थियो होला,

मुटुभरिको माया दिएर,

दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ,

यदि मिल्थ्यो भने तिम्रो लागि मेरो आयु दिने थिएँ,

मात्र एक पटक फर्केर आईदेउन प्रिय मैचा,

तिमीलाई अँगालो हालेर रुनेछु,

तिम्रा लागि गर्न बाँकी सबै सेवा श्रूसुसा गर्नेछु,

अन्तिम घडिमा कति खोज्यौ होला मलाई,

मेरी आमा आउँछे भनी कति पर्खियौ होला मलाई,

निष्ठूरी दैवले तिमीलाई खोसेर लगिहाल्यो,

अब म कहाँ भेटौँ तिमीलाई?

अब मात्र बाँकी छन् तिम्रा स्मृतिहरु, तिम्रा पदचापहरु,

तिमीलाई सदैव देख्न पाउँ ईन्द्रेनी रंगहरुमा,

तिमीलाई महसुस गर्न पाउँ हावाका झोक्काहरुमा,

मेरा सपनाहरुमा बेलाबेला आईदिनु है,

तिम्रो सन्चो बिसन्चो थाहा दिनु है,

तिम्रो स्वर्गबासको कामना गर्दछु प्रिय मैचा।

अलबिदा!!!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]