क्वालालम्पुर (मलेसिया) नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व हरितालिका तिज मलेसियामा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको छ। आगामी २३ तारिख अगस्ट २०२५ (शनिबार) को दिन Hotel Grand Continental, Kuala Lumpur मा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा गायिका अञ्जिला रेग्मीको प्रस्तुति रहनेछ। साथै, नायिका झरना रिसाल, नायिका/मोडल मिसेल घिमिरे, डान्सर बार्षा राई, र मोडल सामा देवान सहित स्थानीय कलाकारहरूले सांगीतिक, नृत्य प्रस्तुति दिने आयोजक संस्था एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले जानकारी दिए ।
मलेसियामा रहेका नेपाली समुदायबीच एकता, नेपाली संस्कार र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ “NRNA NCC Malaysia” द्वारा तिज कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष महतोले बताए । साँझ ६:०० बजेबाट १०:०० बजेसम्म सञ्चालन हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाली परिकार, गीत–सङ्गीत र पारम्परिक नृत्यको समावेश रहनेछ।
तिज पर्व महिलाहरूको चेलीबेटी र सासु–बुहारीको आत्मीयता, सौन्दर्य र श्रद्धाको प्रतीक मानिन्छ। विदेशमा रहेका नेपाली महिलाहरूबीच यस पर्वले सामूहिकता र नेपाली संस्कारको जगेर्ना गर्न सघाउने विश्वास गरिएको छ ।