१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

नवरात्रको आठौँ दिन दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजा आराधना गरिँदै

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।

दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन असोज १९ गते शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

चौथो दिन चौथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौं दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजा आराधना गरिएको हो ।

यसवर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा मंगलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन बुधबार कात्यायनी देवीको पूजा आराधना गरियो । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो ।

आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ ।

नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ। समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो। विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको […]

आज मिति वि. सं. : २०८३ भदौं १० गते बुधबार इ.सं. : 26th August 2026 (Wednesday) सूर्योदय: बिहान ०५:४० बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : त्रयोदशी ०७:१९ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : श्रावण शुक्लपक्ष नक्षत्र : श्रवण २५:२६ सम्म, तत्पश्चात् धनिष्ठा योग : सौभाग्य ०९:४३ सम्म, तत्पश्चात् शोभन करण : गर १९:५९ सम्म, तत्पश्चात् […]

क्वालालम्पुर, मलेसिया — सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ। सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा […]